क्वारेन्टाइनमा बसेका एक युवक मृत फेला

Newslaya Home

क्वारेन्टाइनमा बसेका एक युवक मृत फेला

सोमबार १२, साउन २०७७

बर्दिया । ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा बसेका रामबहादुर साउद मृत फेला परेका छन् । अछाम बन्निगढी गाउँपालिकाका उनी १० दिनअघि भारतको राजस्थानबाट फर्किएका थिए ।

उनी सैनवारमा रहेका आफन्तकहाँ बस्ने भन्दै नाकाबाट भित्रिए पनि घरमा कोही नभेटेपछि पाटीमै बसेका थिए । पाटीमै बसेको देखेपछि प्रहरीले उनलाई क्वारेन्टाइनमा राखेको जनाइएको छ ।

आइतबार कोरोना परीक्षणका लागि पीसीआर गर्न स्वाब संकलन गरिएको थियो । उनको पीसीआर परीक्षणको नतिजा भने आएको छैन । उनी डिप्रेसनको बिरामी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार क्वारेन्टाइन पछाडिको रुखमा तन्नाको पासो लगाएर उनले आत्महत्या गरेका हुन् । कोरोना रिपोर्ट नआएकाले शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।