कोरोना संक्रमण बढेपछि विराटनगरमा अत्यावश्‍यक बाहेकका सेवा बन्द

Newslaya Home

कोरोना संक्रमण बढेपछि विराटनगरमा अत्यावश्‍यक बाहेकका सेवा बन्द

सोमबार १२, साउन २०७७

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलनसक्ने जोखिम बढेपछि महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न महानगरले अनुगमन कार्यादल पनि बनाएको छ। कार्यालयमा हुने भीडभाडका कारण भाइरस संक्रमणको दर उच्च हुनेतर्फ सचेत हुँदै केही समय अत्यावश्यक सेवा मात्र प्रदान गर्ने निर्णय गरेको छ।

घरनक्सा पास, सामाजिक सुरक्षा भत्ता वितरण तथा कार्ड नवीकरण जस्ता पछि गर्न मिल्ने खालका काम तत्काललाई बन्द गरिएको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

त्यस्तै हरेक पसल व्यवसाय सञ्चालन गर्ने सञ्चालक र त्यहाँ काम गर्ने कामदारहरूले अनिवार्य मास्क लगाउनुपर्ने, उल्लंघन गरेको पाइएमा जरिवाना गराउने र व्यवसाय बन्द गरिदिनेसम्मको निर्णय गरिएको छ।

पछिल्लो समय प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत प्रहरी, विराट नर्सिङ होममा कार्यरत एक चिकित्सक र चारजना स्टाफ नर्समा संक्रमण देखिएको छ।