साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निजी विद्यालयको निर्णय

Newslaya Home

साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निजी विद्यालयको निर्णय

आइतबार ११, साउन २०७७

दमौली । तनहुँका निजी विद्यालयले साउन १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयसँगै प्रशासन र विद्यालय सञ्चालकबीच द्वन्द्व श्रृजना भएको छ । शनिबार बसेको निजी विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सनको संयुक्त बैठकको साउन १५ गतेबाट विद्यालय चलाउने निर्णयपछि प्रशासनले यसो हुन नदिने बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले सरकारको निर्णयविरुद्ध पठनपाठन सञ्चालन भएमा कारवाही गर्ने बताए । तर निजी विद्यालय सञ्चालकहरुले भने अन्यत्र पनि पठनपाठन सञ्चालन हुन थालेकाले स्थानीय सरकारहरुलाई जानकारी गराएर पठनपाठन अघि बढाउने निर्णय गरेका छन् ।

दुवै संस्थाले बैठकपछि गरेको निर्णयमा विद्यालयमा सरसफाई, तापक्रम मापन र स्यानिटाइजरको व्यवस्था गर्ने उल्लेख छ । विद्यालय सञ्चालन गर्ने भने पनि ती संस्थाले स्कूल बस भने केही समय नचलाउने उल्लेख गरेका छन् । तर सरकारले विद्यालय खुलाउन अनुमति दिइनसकेको अवस्थामा भोलि प्रशासनले रोकेमा के गर्ने भन्नेमा भने सञ्चालकहरु द्विविधामा छन् ।

जिल्ला सभाले नै विद्यालय खुलाउनका लागि प्रदेश र संघमा अनुरोध गरेकाले आफूहरुलाई पठनपाठन अघि बढाउन बाटो खुलेको न्यू मनकामना अंग्रेजी स्कुलका सञ्चालक तिलकबहादुर चौहानको दाबी छ ।