‘वडाको भौतिक पूर्वाधार विकास गर्ने योजना छ’

Newslaya Home

‘वडाको भौतिक पूर्वाधार विकास गर्ने योजना छ’

शुक्रबार ०९, साउन २०७७

वडामा के–कस्ता समस्या आउँछन् र ती समस्यालाई कसरी समाधान गर्दै हुनुहुन्छ ? भनेर हामीले रामधुनी वडा नं. २ का वडा सचिव घनेन्द्र कोइरालासँग कुराकानी गरेका छौं । न्युजलयका लागि ज्योती पोख्रेलले गरेको कुराकानीः

आजभोलि के मा व्यस्त हुनु हुन्छ ?
आजभोलि म कार्यलयको नियमित काममा नै व्यस्त छु ।

वडाको विकासको अवस्था कस्तो छ ?
सामान्यतया बाटोघाटो, पुलपुलेसा, भौतिक निर्माण, सामाजिक विकासको कार्यहरु तीव्र रुपमा भईरहेका छन् ।

वडामा के कस्ता समस्याहरु रहेका छन् ?
वडामा उपभोत्ता समिति मार्फत काम गराउँदा एक पटकमा कुरा नबुझिदिने, सबै कागजपत्रहरु कर्मचारीले नै मिलाइ दिनुपर्ने लगायतका समस्याहरु छन् र हामीले त्यसलाई सहजिकरण गर्दै जनताको कामहरु सर्वसूलभ रुपमै गरिरहेका छौं ।

वडाबासीहरु के–कस्ता समस्याहरु लिएर आउने गर्छन् ? त्यस्ता समस्याहरु कसरी समाधान गर्नु हुन्छ ?
सामान्यतया गाउँका बासिन्दाहरु निवेदन बिना नै कार्यलय आउने गर्छन् । अपूरा कागजपत्र साथै आवश्यक कागजपत्रहरु हेरेर त्यसलाई सच्याउन सुझाव दिने साथै सक्दो सहयोग गर्ने गरेका छौं ।

झै–झगडा, मुद्दा मामिलाको विषयका समस्याहरु कत्तिको आउने गर्छन् ?
त्यस प्रकारका समस्याहरु पनि आउछन् । अत्यधिक मात्रामा चाही घरायसी विवाद, सामान्य झै–झगडाका मुद्दाहरु आउने गरेका छन् ।

सुरुवाती दिनबाट आजसम्म के–कस्ता विकास निर्माणका कामहरु भए ?
मुख्य विकास निर्माणको बाटोघाटो नै हो । त्यसका साथै महिला लक्षित कार्यक्रमहरु, जेष्ठ नागरिक अपाङ्ग लक्षित कार्यक्रमहरु साथै उल्लेखित सम्पूर्ण कार्यक्रमहरु सफलता पूर्वक सम्पन्न भएका छन् ।

कार्यलयमा आएका समस्याहरु कसरी समाधान गर्नुहुन्छ ?
कार्यलयमा आएका समस्याहरु भनेको योजना सम्बन्धि कागजातको बारमा नै हुन् । कागजात अपूर्ण भएमा सम्बन्धित व्यक्तिलाई सुझाव दिने गछौं । सबै कागजपत्र तयार पारी आएमा हामीले सहज रुपमा काम सम्पन्न गर्दिएका छौं ।

यो रामधुनी वडा नम्बर २ लाई अझ विकास गर्न के के गर्नुपर्छ ?
नेपाल सरकारबाट आउने अनुदान रहेको छ, त्यसमा वृद्धि भएर आउदा थप विकास निर्माणको काम सम्पन्न हनेछ ।

यस वडाको आगामी योजना के–के रहेका छन् ?
आगामी योजना अन्तर्गत भौतिक पूर्वाधार विकासका योजनाहरु रहेका छन् । अहिले १ करोड २७ लाख भौतिक योजनाको बजेट रहेको छ । लक्षित वर्ग, सामाजिक सुरक्षाका योजनाहरु रहेका छन् ।

महिला बालबालिका तथा युवाहरुको लागि के–कस्ता योजना तर्जुमा गर्नु भएको छ ?
महिला लक्षित योजनामा विभिन्न सिपमूलक तालिमहरु रहेका छन् । युवाहरुको लागि उनीहरुको सर्वाङ्गिण विकासका योजनाहरु समावेश गरिएको छ ।

हाल कोरोना संक्रमण विरुद्धमा के–कस्ता उपायहरु अपनाइएको छ ?
कोरोना संक्रमणको विरुद्धमा वडाले भन्दा पनि नगरपालिकाले बिरबिरे फारममा क्वारेन्टाइन निर्माण गरेको छ । हाम्रो वडामा पनि त्यस्तो जानकारी पाउने बित्तिकै एम्बुलेन्सको व्यवस्था गरेर बिमारीहरु ल्याउने र क्वारेन्टाइनमा राख्न गरिरहेका छौं ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडाबासीहरुमा आफ्नो जे समस्याहरु रहेका छन् ती समस्याहरु अप्ठ्यारो नमानीकन वडामा आएर कर्मचारीहरु मार्फत सहज रुपमा सम्पन्न गर्नुहुन अनुरोध गर्दछु ।