शिक्षकको समस्या नबुझेको की बुझ्न नचाहेको ?

Newslaya Home

शिक्षकको समस्या नबुझेको की बुझ्न नचाहेको ?

–सरोज बराल
मङ्गलबार ०६, साउन २०७७

अहिले कोभिड–१९ को कारणले विश्व नै आतंकित भइरहेको अवस्थामा नेपालमा निजि लगानीमा स्थापित कम्पनीबाट संचालित विद्यालयका संस्थापक र शिक्षकहरू बीच एक प्रकारको संघर्ष चलिरहेको छ । यस्तो नहुनुपर्ने ठाउँमा, अझ शिक्षकहरू र संस्थापकहरू नै एउटै परिवारको सदस्यहरू भएको अवस्थामा शिक्षकहरू किन आन्दोलनमा भन्ने सवाल गहिरो हुँदैछ । यस्तो हुनुमा को जिम्मेवार ? भन्ने सवालमा फ्याट्ट एउटालाई अर्थात् कि त शिक्षकलाई कि त संस्थापकलाई एउटालाई दोष लगाउन त सजिलो होला । तर यसरी विषयको गाम्भिर्यतालाई बुझ्न अलिक कठिन होला ।

हुन त म आफू यस विषयको विशेषज्ञ होइन । तर आफू बिगत ३२/३३ बर्षदेखि यसै क्षेत्रमा कार्यरत रहेको हुँदा र यस बीचमा १५ बर्षसम्म आफूले पनि निजि बिद्यालय संचालन गरेका कारण संस्थापकहरू भन्दा अलिक बढि शिक्षकको र शिक्षकहरू भन्दा अलिक बढी संस्थापकको समस्या बुझ्दछु जस्तो लाग्दछ ।

देशको साक्षरता प्रतिशत अत्यन्तै न्यून रहेको अवस्था थियो । यतिबेला रोजगारीको पनि समस्या नै रहेको कारणले केही युवाहरूले स्वरोजगार हुने बाटो बनाउने क्रममा निजि स्कुल स्थापना हुन पुगेको देखिन्छ । आफू रोजगार पनि हुने र अरुलाई रोजगारी पनि दिन सकिने भएकोले स्कुलहरू स्थापना हुँदै गए । साक्षरता प्रतिशत वृद्धि गर्न सरकारले पनि उनीहरूलाई बेलगाम छुट दिंदै गयो । शिक्षालाई सेवा पो हो त भनेर होला कुनै प्रकारको कर लगाइएन ।

संचालकरसंस्थापकहरूले पनि बढिभन्दाबढि फाइदा लिने यस्तो मौकामा यो सेवा नै हो भन्ने प्रचार गरिरहे । उनीहरूले “यो सेवाको व्यापार हो र हामी व्यापार गर्दैछौं” भन्न कतै पनि सकेनन् । लोभ न हो, उनीहरू निरन्तर यो लोभमा लागि रहे । अरुले स्कुल बोलिचालिको भाषामा बोर्डिङ (वास्तवमा बोर्डिङको अर्थ नबुझ्ने) खोलेर कमाएको देख्न थाले र यस्तो पो गर्नुपर्ने रहेछ भन्ने लाग्न थाल्यो ।

पञ्चायती व्यवस्थाको अवसान पछि राजनितिक दलहरूलाई गाउँघरसम्म आफ्ना कुरा पुर्याउन सजिलो माध्यम बने सरकारी स्कुलका शिक्षकहरू । यतिबेलासम्म गाउँमा निजि स्कुल थिएनन् । पंचायती व्यवस्था रहुन्जेलसम्म सरकारी स्कुलहरूमा पढाइ स्तरिय नै थियो भन्ने यसरी पनि प्रमाणित हुन्छ कि अहिलेसम्म निजि स्कुलका संस्थापक र शिक्षकहरू अधिकांस त्यहिं कै उत्पादनहरू छन् । तर बहुदलिय व्यवस्था स्थापना भएपछि शिक्षकहरूलाई आफ्नो पार्टीको सदस्य बनाउन थालियो । उनीहरूलाई पार्टीको काममा खटाउन थालियो । आफ्नो पार्टीको पकड दह्रो भएको ठाउँमा संचालक समितिको अध्यक्ष आफ्नो पार्टीको मान्छेलाई राख्न थालियो ताकी आफ्नो शिक्षक पार्टीको कामा खटिएको बेला किन अनुपस्थित भन्ने प्रश्न नगरियोस् ।

अलिपछि सरकारी स्कुललाई सुधार गर्न भन्दै समुदायलाई हस्तान्तरण गरियो । समुदायबाट व्यवस्थापन समितिको अध्यक्ष बनेकाहरूले राम्रोसँग क ख पनि लेख्न पढ्न नजान्ने छोरीबुहारीहरू जसलाई खुलेआम आफैले चिट गराएर पास गराएकाहरूलाई शिक्षक बनाउन थाले । आफ्ना छोराछोरीहरू निजि स्कुलमै पढाउने भएपछि त्यहाँ पढ्ने अर्काका छोराछोरी जानुन् कि नजानुन् मतलव हुने कुरै भएन । यसले सरकारी स्कुल अझ धेरै खस्कदो अवस्था र निजि स्कुल अझ फस्टाउँदो अवस्थामा पु¥याउने काम ग¥यो ।

जब निजि स्कुल दिन दुगुना रात चौगुना भएर फस्टाउन थाल्यो, तब केहीले दर्ता समेत नगरि स्कुल चलाउन थाले । बोर्डिङबाट पढेर आएका विद्यार्थी भनेपछि एक पास गरेकालाई तीन चारमा, पाँच पास भएकालाई आठमा र कतिले त जिल्ला स्तरिय परीक्षा नदिएका छ पास गरेकाहरूलाई नौ मा लिएर आठको सर्टिफिकेट पनि मिलेमतोमा तयार गरिदिने गरेको पनि देखिएको छ ।

निजि स्कुल संचालन गरेर संचालकरसंस्थापकहरूले सबैले त होइन, २०/२५ प्रतिशतले प्रसस्त आम्दानी गरेर आफ्नो जीवनस्तर माथी पु¥याए । तर त्यहाँ कार्यरत शिक्षकहरूभने कतिबेला आफू त्यहाँबाट कुन आरोपमा निकालिनु पर्ने हो भनेर डराइडराइ काम गर्नु परेको अवस्थामा गुज्रनु परेको छ । राम्रोसँग कमाइ भइरहेका निजि स्कुलहरूले पनि न्यून ज्यालामा शिक्षकहरू राख्ने र अधिकतम श्रमको शोषण भएको महशुस हुने गर्दछ ।

काम गर्ने र गराउने बीचको सहमति भएर ज्यालाको निर्धारण हुनु कुनै नौलो होइन । तर अन्य सेवा सुविधाबाट पनि बंचित गराइन्छ । राम्रोसँग चलेको र पुग्ने बिद्यालयले पनि चाडपर्व खर्च नदिने, दिनेहरूले पनि निजिको नियम भन्दै पहिलो बर्ष नदिने, दोस्रो र तेश्रो बर्ष २५ प्रतिशत, चौथो र पाँचौ बर्ष ५० प्रतिशत, छैटौं र सातौं बर्ष ७५ प्रतिशत गर्दै शतप्रतिशत पर्व खर्च पाउन आठौं बर्ष पुर्याउने स्कुलहरू छन् । अझ भनौं आफुले सुविधा लिनुपरे सरकारी नियम र दिनुपरे निजि संस्था भन्ने गर्दछन् ।

संस्थापकहरूले जतिबेला जे बोल्दछन् त्यो नै निजि बिद्यालयको नियम बनेको हुन्छ । नियुक्तिका बखत कुनै नियम बताइरहनु पनि नपर्ने र नियुक्ती पत्र पनि दिनु नपरेको अर्थात् शिक्षकले यी कुराहरू थाहै पाएको हुँदैन । कुनै नियम र प्रक्रिया पूरा गरेको हुनु पर्दैन । आफुलाई कहिल्यै कुनै नियम बताएको नहुने र आफूसँग नियुक्ती पत्र पनि नहुने भएका कारण त्यहाँ कार्यरत शिक्षक निरीह हुन पुगेका हुन्छन् ।

सहज अवस्था भएको समयमा संस्थापक र शिक्षकहरू एउटै ठाउँमा कार्यरत भएको कारण एउटै परिवारका सदस्य हो हामी भन्ने गरिएको हुन्छ । एउटै परिवारको भएपछि शिक्षक, विद्यार्थी लगायतको अभिभावक पनि हुने गर्दछ । अभिभावक भनेको स्कुलको संस्थापक नै हो । अभिभावकले आफ्नो परिवारको अभिभावकत्व अप्ठ्यारो परेका बखत निर्वाह गरेर देखाउन सक्नु पर्दछ । अप्ठ्यारोमा परेको बखत तिमीहरूलाई खान, लाउन दिन सक्दिन भनेर छाडिन्छ भने त्यो योग्य अभिभावक कसरी हुन सक्छ ?

अहिले बिगत तीन माहिनादेखि स्कुलहरू बन्द रहेका छन् । यस्तो अवस्थामा अभिभावकले आफ्नो परिवारका सदस्यले खाए कि खाएनन् होला भनेर बिचार गर्नु पर्छ कि पर्दैन ? उनीहरूको भुमिका कस्तो रहेको छ त ? यो बेला आफ्ना शिक्षकहरू कता गएर के गर्दैछन् भनेर खोजी किन गरिएन । “अहिले समस्या छ, हामीसँग यति छ, यति बाँडेर खाउँ, एकदिन सहज बन्ला अनि फेरि मिलेर गरौंला, खाउँला भन्न किन सकेनन् ?

आउ हामी मिलेर के गर्नुपर्छ सल्लाह गरौं र साथसाथै जाउँ भन्न किन सकेनन् ? ताक परे तिवारी नत्र गोतामे भने झैं बेतलवी बिदा भनेर किन भने ? हुन त यसलाई अहिले सच्याइयो अरे भन्ने सुन्दैछु ।

अझ कतिपयले त बिगत छ महिनादेखि पारिश्रमिक नदिएको सुनिन्छ । यसरी कामदारलाई पारीश्रमिक नदिने र आफू करोडौंको अचल सम्पत्ति यहि बेला जोड्नेलाई श्रम शोषण गरेको भन्ने कि नभन्ने ? कतिपय संस्थापकहरू भन्ने गर्नुहुन्छ ‘समस्या छ भने हामीसँग आएर भन्नुपर्छ कि बाहिर आन्दोलन गर्नुपर्छ ?’ यस्तो कुरामा एकपटक सोच्नुस् त । आएर कुरा राख्दा तपाईंहरूको जवाफ के हुन्छ ? अनि छ महिनासम्म पारिश्रमिक नपाएको, तीन महिनासम्म केही नपाएको शिक्षकको समस्या बुझ्न नचाहेको हो कि नबुझेको हो ? संस्थापकहरू पनि पढेलेखेकै हुनुहुन्छ । यति कुराहरू भनेपछि मात्र बुझ्ने कि बोलाएर बुझ्ने र बुझाउने हो ? अझ कतिपय ठाउँमा त एउटा संस्थापकले दिन खोज्दा अर्कोले रोकेर “यस्तो गर्दा अरुलाई समस्या हुन्छ । त्यो स्कुलले दियो, हाम्रो स्कुलले किन दिएन भन्लान् । यस्तो नगर ।” भनिएको कुरा समेत सुन्नमा आएको छ ।

यस्ता कुराले समस्या निम्त्याउँछन् । यी समस्यासँग कसरी मिलेर जाने भन्ने बाटो निकाल्नु नै उत्तम हुन्छ । स्कुल छ र शिक्षक छन्, शिक्षक छन् र पो स्कुल छ भन्ने भावना दुवै पक्षमा हुन जरुरी छ । “हामीले स्कुल स्थापना गरेका छौं र पो यिनीहरूले जागिर पाएका छन्” भन्ने संस्थापकको सोच र “हामीले पढाइ दिएका छौं र पो यिनीहरूले कमाउन पाएका छन्” भन्ने शिक्षकको सोच दुवै घातक हुनेछन् । ढुंगाको भर माटो र माटोको भर ढुंगो भएर बस्न सके मात्र दुवै पक्षलाई फाइदा होला ।

1 प्रतिकृयाहरू प्राप्त
  • Kabiraj ghimireलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०६, साउन २०७७
सहि हो