आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

Newslaya Home

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

बिहीबार ०१, साउन २०७७

काठमाडौं । आज साउने सङ्क्रान्ति । अर्थात् लुतो फाल्ने दिन । नेपालका ग्रामिण भेगहरुमा ‘लुतो फाल्ने पर्व’ हरेक साउने सङ्क्रान्तिका दिन मनाईन्छ । मानो रोपेर मुरी उब्जाउन अहोरात्र घाम, पानी, झरी र हुरी नभनी कृषकहरु जेठदेखि असार अन्तिमसम्ममा खेतिबारीमा निकै व्यस्त हुने गर्छन् । त्यसैले किसानहरुले आजको दिन घरमै बसी आराम गर्छन् भने असार महिनाभर खेतीपातीका लागि बाँधीएका गोरुलाई थकाई मार्न समय दिने गरिएको बुढापाका बताउँछन् ।

हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी साउने सङ्क्रान्ति मनाईन्छ ।

कथन अनुसार संक्रान्तिका दिन साँझ लुतो, दाद जस्ता छालासँग सम्बिन्धत चर्म रोगबाट मुक्ति मिल्ने विश्वासमा लुतो फाल्ने चलन रहेको छ ।

लुतो फाल्नको लागि ग्रामिण भेगहरुमा आँगनीको छेउमा रहेको तुलसी मोठनजिकै भलायको ठूल्ठूलामा पातमा स–साना हाँगाका खाँबो बनाएर देवताको रुपमा खोलाबाट केहि ‘शिला’ ल्याएर राखिन्छ । त्यसैमाथि कुकुरदाइना, लुतेझार, बेसारको फूल, पानीसरो, कुरिलो घाँस, लहरे घाँस आदि औषधीय वनस्पति राखि नाङ्लामा विभिन्न पूजाआजाका सामाग्री राखि साँझ परेपछि विभिन्न फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरीन्छ ।

त्यसपछि बल्दाबल्दैको अगुल्टो घरको छेउबाट टाढाटाढा पुग्ने गरी फ्याक्ने गरीन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहिआएको छ । यसो गर्दा चर्मरोग नलाग्ने विश्वास गरीन्छ । त्यसपछि टिका लगाएर प्रसादी बाँडीन्छ । मिर्मिरे अँध्यारोमा यस्तो गर्दा गाउँघर गुञ्जायस हुन्छ । तर पछिल्लो समय युवाजमात रोजगारी र अध्ययनको लागि अन्य शहरहरुमा पुग्ने गरेका कारण गाउँमा साउने संक्रान्तिको रौनक उतिसारो छैन ।