मुकेश अम्बानी बने विश्वकै छैठौं धनी व्यक्ति

Newslaya Home

मुकेश अम्बानी बने विश्वकै छैठौं धनी व्यक्ति

मङ्गलबार ३०, असार २०७७

नयाँ दिल्ली । भारतीय व्यापारी मुकेश अम्बानी विश्वकै छैठौं धनी व्यक्ति बनेका छन् ।

अम्बानी अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकका संस्थापक एलन मस्क र गूगलका संस्थापकद्वय सेर्गेरी ब्रिन र ल्यारी पेजलाई समेत उछिनेर विश्वका छैठौं धनी व्यक्ति बनेका हुन् ।

अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सअनुसार मंगलवार अम्बानीको नेटवर्थ २ अर्ब १७ करोड डलर बढेर ७२ अर्ब ४० करोड डलरमा उक्लिएको छ ।

अम्बानीले गत हप्ता मात्रै सूचिमा अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटलाई उछिनेका थिए ।

इन्डेक्सअनुसार मंगलबार मस्कको सम्पत्ति १ अर्ब ९२ करोड डलर घटेर ६८ अर्ब ६० करोड डलरमा समेटिएको छ । ब्रिन नेटवर्थ १ अर्ब ५ करोड डलर घटेर ६९ अर्ब ४० करोड डलरमा आएको छ । त्यस्तैगरी पेजको भने १ अर्ब १२ करोड डलरको कमीसहित ७१ अर्ब ६० करोड डलरमा छ ।

मार्चको तुलनामा अहिले अम्बानीको नेटवर्थ बढेर दोब्बर भएको छ । हालैका महीनामा सामाजिक सञ्जाल फेसबुक, निजी इक्विटी कम्पनी सिल्भर लेक र अमेरिकी बहुराष्ट्रिय कम्पनी क्वालकमले अम्बानीको व्यापारिक समूह रिलायन्सको डिजिटल एकाईमा १२ चरणमा १५ अर्ब डलरभन्दा धेरै लगानी गरेका छन् ।

यसका कारण अम्बानीको कम्पनीको शेयरहरुमा तीव्र वृद्धि हुँदा हालैका दिनमा उनको नेटवर्थले नयाँ कीर्तिमान बनाइरहेको छ ।