स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

Newslaya Home

स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

मङ्गलबार २३, असार २०७७

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोलले हराउँदै सानदार जित हात पारेको छ । । यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी चार अंकले घटाएको छ ।

अब चार खेल बाँकी रहँदा ला लिगाको उपाधि होड पनि रोचक बन्दै गएको छ । उपाधि दौडमा रियल र बार्सिलोना अगाडि छन् । रियल अझै बलियो अवस्थामा छ । आइतबार राति नै भएको खेलमा रियलले एथलेटिक बिल्बाओलाई १–० गोलले स्तब्ध बनाएको थियो । बार्सिलोनालाई उपाधि रक्षा गर्न अब सबै खेल जित्नुपर्ने बाध्यता छ जसमा रियलले अंक गुमाउँदै जानुपर्ने छ।

बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोइन ग्रिजम्यान र अन्सु फातीले गोल गरे । बार्सिलोनाले अर्को गोल आत्मघाती रूपमा उपहार पाएको थियो । भिल्लारियलका जेरार्ड मोरेनोले सान्त्वना गोल गरेका थिए । बार्सिलोनाले खेल सुरु भएको तेस्रो मिनटमै आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो ।

बल बचाउने क्रममा भिल्लारियलका पाउ टोरेसको प्रहार आफ्नै पोस्टमा छिरेको थियो । त्यसपछि भिल्लारियलका जेरार्डले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीपछि जोसिएको बार्सिलोनाले २०औं मिनेटमा पुनः अग्रता लियो । स्वारेजले कप्तान लियोनल मेसीको पासमा गोल गर्दै बार्सिलोनालाई अगाडि बढाएका थिए ।

भिल्लारियलले राम्रा अवसर बनाए पनि थप गोल गर्न सकेन । जितसँगै बार्सिलोनाले ३४ खेलबाट ७३ अंक बनाएको छ । भिल्लारियल ५४ अंकसहित पाँचौं स्थानमा छ । शीर्ष स्थानमा रहेको रियलको समान खेलबाट ७७ अंक छ ।