ब्याज छुट गरिदिन व्यवसायी महासंघको आग्रह

Newslaya Home

ब्याज छुट गरिदिन व्यवसायी महासंघको आग्रह

आइतबार २१, असार २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकसँग ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरुले आग्रह गरेका छन् ।

साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षको चेतावनी दिएका हुन् ।

करिब ३ महिना भएको पूर्ण लकडाउन र हालसम्म पनि जारी रहेको आंशिक लकडाउनका कारण उद्योग–व्यवसायहरु निकै अप्ठेरोमा परेको भन्दै तत्कालै ब्याज छुटको घोषणा गरिनुपर्ने महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक तथा वित्तीय क्षेत्रका संयोजक कुमार कार्कीले बताए ।

विभिन्न ५ बुँदे माग अघि सार्दै आफ्ना मागहरु पुरा नभए सडकमा उत्रिन बाध्य भइने महासंघले चेतावनी दिएको छ । लकडाउन पूर्ण रुपमा नखुल्दै बैंकले ऋण तिर्न ताकेता गरेको भन्दै ऋण तिर्ने भाका पनि पर सार्नु पर्ने बताइएको छ ।

महासंघले लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत् छुट हुनुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सार्नुपर्ने, पुनरकर्जा कोषमा साना उद्योगी–व्यवसायीहरुको पहुँच सुनिश्चितता गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गर्नुपर्ने र स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गर्नुपर्ने माग अघि सारेको छ ।