मेलम्चीको सुरुङभित्र पानी पठाउन सुरु, काठमाडौंमा झार्न दुई महिना परीक्षण हुने

Newslaya Home

मेलम्चीको सुरुङभित्र पानी पठाउन सुरु, काठमाडौंमा झार्न दुई महिना परीक्षण हुने

आइतबार २१, असार २०७७

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङमार्गमा पानी हालेर परीक्षण सुरू गरिएको छ ।

आइतबार बिहान खोलामा बाँधिएको अस्थायी बाँधमार्फत सुरुङभित्र पानी पठाउन सुरु गरिएको हो । निर्माण सम्पन्न भएको सुरुङमार्ग विस्तृत परीक्षणका लागि खोलाबाट सुरुङभित्र पानी पठाउन थालिएको मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

पानी हालेपछि परीक्षण गर्दै सुन्दरीजलसम्म पानी आइपुग्न १५ देखि २० दिन समय लाग्ने बताइएको छ । खोलादेखि सुन्दरीजलसम्म सुरुङमा पानी पठाएर क्रमशः परीक्षण गर्न लागिएको हो ।

उक्त काठमाडौंमा झार्नका लागि झन्डै २ महिनासम्म परीक्षण गर्न समय लाग्ने बताउँदै यो बीचमा सुरुङमा पानी भर्दै खाली गर्दै गर्नुपर्ने र विस्तृत रुपमा जाँच गर्नुपर्ने आयोजना प्रमुख खत्रीले जानकारी दिए ।

इटालियन ठेकेदार कम्पनीले बाँकी छोडेर गएको काम हाल चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । सो कम्पनीलाई आगामी पुसको दोस्रोसाता भित्र काम सम्पन्न गर्न अन्तिम समयसीमा दिइएको छ ।