‘सडकका साथै स्वास्थ्य र शिक्षा प्राथमिकतामा’

Newslaya Home

‘सडकका साथै स्वास्थ्य र शिक्षा प्राथमिकतामा’

आइतबार २१, असार २०७७

यतिखेर स्थानीय तहहरु नयाँ आर्थिक वर्ष २०७७/७८ को लागि बजेट बनाउने क्रममा छन् । विभिन्न वडाहरुका आफ्ना आफ्नै योजनाहरु बजेटमा परेका छन् । यसै सन्दर्भमा बरहक्षेत्र वडा नं.५ का वडाअध्यक्ष राजु अधिकारीसंग हामीले वडाका विविध विषयहरुमा कुराकानी गरेका छौं । न्युजलयका लागि ज्योती पोख्रेलले गरेको कुराकानीः

यो पटकमा वडाको बजेट कुन कार्यमा लक्षित गर्ने योजना रहेको छ ?
वडाको मुख्य योजना कृषि क्षेत्रको विकास नै रहेको छ ।

वडाका मुख्य समस्याहरु के के रहेका छन् ?
५ नम्बर वडाको मुख्य समस्या भनेको बाटोघाटो निर्माणको रहेको छ । कृषि क्षेत्रको विकास र बाटोघाटो निर्माणका कुराहरु मुख्य समस्याका रुपमा रहेका छन् । बाटोघाटो निर्माणका कार्य पूर्ण हुन बाँकी रहेको छ । यो वर्षभरिमा स्तरोन्नतीको कार्य सम्पन्न हुनेछ ।

तपाईंले वडाको समस्या अन्त्यका लागि कहाँ कसरी आफ्नो माग राख्ने गर्नुभएको छ ?
प्रदेश साथै नगरपालिकामा समस्या समाधानका लागि माग गर्ने गरेका छौं । सहयोग आउने क्रम पनि जारी रहेको छ । त्यसकारण वडाको कार्यमा जोकोहीले बुझ्न चाहेमा उनीहरुलाई स्थलगतरुपमा देखाएर प्रष्ट पार्ने छु । कतिपय पत्रपत्रिकाहरूमा राम्रा कुरा नछाप्ने तर नराम्रो कुरा छाप्ने गरेको देखेको छु । बदनाम गराउने खालको कार्य, गतिविधिहरु हामीले पनि बुझिरहेका छौँ ।

हामीले गर्नसक्ने सम्मका कार्यहरु धेरै नै गरिरहेका छौं । हामीले गरेका राम्रा कार्यहरु मध्ये नेपाल अधिराज्यभरीमै सबैभन्दा पहिले ट्याक्टर खरिद गरेर फोहरमैला निस् शुल्क उठाउने, गरीब दुःखीका घरमा मराउ परेमा उनीहरुलाई घाटसम्म लाने ट्याक्टरको व्यवस्था निस्शुल्क रुपमा गरेका छौं । बाटोमा भएका खाल्डाखुल्डी पुर्ने, व्यवस्थापन गर्ने कार्यमा समेत सोही ट्याक्टरको प्रयोग गरेका छौं ।

विकास निर्माणका कार्यहरु बाटोघाटो निर्माण, सिचाइ कुलोको व्यवस्थापन, अन्य सामान्य कुराहरूमा आधारित रहेको छ । बजेट अनुसारको विकास हुने गर्छ । यो वर्ष ५५ लाख दिएको छ । योभन्दा अघिल्लो वर्षमा ५० लाख दिएको थियो र त्यो भन्दा अघिल्लो वर्षमा ७० लाख दिएको थियो । जति रकम नगरबाट विनियोजन हुन्छ त्यसलाई विकासको कार्यमा लगाउने गरेका छौं । अन्य नगरको योजनामा लगाउने गरेका छौं । त्यहाँबाट पनि नसकेका योजनाहरु केन्द्र र प्रदेशबाट लगाउने गरेका छौं ।

अहिले कोरोनाको महामारी छ । यो अवस्थामा तपाईले ५ नम्बर वडामा कसरी व्यवस्थापन गर्नुभएको छ ?
हाम्रो वडामा क्वारेन्टाइन निर्माण गर्ने ठाउँ छैन । त्यसका लागि नगरपालिकाले निश्चित ठाउँ तोकिदिएको छ । यो महामारीमा आपत विपत परेका मानिसहरुलाई उद्धार गर्ने क्रम जारी रहेको छ । हामी प्रत्येक घर र गाउँमा पुग्यौं । गरिब तथा विपन्न हरूको घरमा चुलो निभ्न दिएनौं ।

वडाका गरिब तथा अति विपन्न परिवारहरु को लागी के–कस्तो व्यवस्था गर्नुभो ?
गरिब तथा विपन्न परिवारहरुको लागि नगरपालिकाबाट पठाएको बजेट बाट एक एक बोराको दरले चामल हजार घरधुरीलाई वितरण गर्यौं । अरु राहतको समेत व्यवस्था गर्यौं ।

वडाका आगामी योजनाहरु के के छन् ?
आगामी योजनाहरुमा सडकको स्तरोन्नती रहेको छ । त्यहाँबाट धरान जनाका लागि पूर्वाधार तयार भइसकेको र कालोपत्रे बन्दैछ । त्यसपछि स्वास्थ्य शिक्षा लगायतका विकासका पूर्वाधारहरूलाई प्राथमिकतामा राखेका छौं ।

नगरपालिकाले नीति निर्माण गरेर वडाहरुलाई बजेट विनियोजन गर्ने हो भने स्थानीय तहको विकास सम्भव छ ।