ललितपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा चार प्रहरी घाइते

Newslaya Home

ललितपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा चार प्रहरी घाइते

शनिबार २०, असार २०७७

काठमाडौं । ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका छन् ।

प्रस्तावित फास्ट ट्रयाकको विरोधमा उत्रिएका स्थानीयले खुदोलमा धान रोपाइँ गर्न जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

धिमे र भुस्या बजाउँदै धान रोपाईमा सहभागी भएका उनीहरुले खोकनाको कृषि योग्य जमिन अतिक्रमण गर्न नपाइने भन्दै प्रदर्शन गरेका थिए ।

जग्गाधनी लालपूर्जा लिएर खेत खेतमा रोपाइ गर्न पुगेकाहरुलाई रोकेपछि स्थानीय र प्रहरीबीच केही समय झडप भएको थियो । सो क्रममा स्थानियले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो भने प्रदर्शनलाई रोक्न प्रहरीले लाठीचार्ज र केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी समेत घाइते भएका छन् ।

फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।