कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Newslaya Home

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

शनिबार २०, असार २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।

गोरखाको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचार क्रममा शनिबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।

निमोनियाका बिरामी समेत रहेका ती पुरुषको अघिल्लो दिन कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएपछि शुक्रबार राति अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालका नि.मेडिकल सूपरिटेण्डेन्ट डा. नवीन थापाले जनाए । अस्पतालमा ल्याएका उनको स्वास्थ्य अवस्था जटिल देखिएपछि अक्सिजन दिएरै राखिएको थियो ।

उनका अनुसार ती पुरुष गत असार १७ मा कतारबाट फर्केर क्वारेन्टाइन बसेका थिए । गोरखाकै च्याङली बिरुवास्थित जीवनज्योति माविको क्वारेन्टाइनमा बस्दै आएका उनको असार १८ मा स्वाब संकलन गरिएकोमा असार १९ मा कोरोना पुष्टि भएको प्रवक्ता कृष्ण ढकालले जानकारी दिए ।