एट्लेटिकोसँग बराबरीमा रोकियो बार्सिलोना

Newslaya Home

एट्लेटिकोसँग बराबरीमा रोकियो बार्सिलोना

बुधबार १७, असार २०७७

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । घरेलु मैदान भएको खेलमा बार्सिलोना एट्लेटिकोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

सुरुवाती अग्रता लिएको बार्सिलोनाले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकिएको हो । बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

१२ औं मिनेटमा बार्सिलोनाले आत्मघाती गोलबाट अग्रता लिएको थियो । कप्तान लियोनल मेस्सीले गरेको कर्नर प्रहार एट्लेटिकोका डिएगो कोस्टाले बचाउँँन खोज्दा गोल भएको थियो ।

त्यसपछि १७ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र आर्टुरो भिडालले एट्लेटिकोका यानिक करास्कोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर डिएगो कोस्टाको गरेको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले रोकी दिएका थिए ।

खेलको ५० औं मिनेटमा एट्लेटिकोका फेलिपेले नेल्सन सेमेडोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी अवसर दिएका थिए । मेस्सीले उक्त पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई पुनः २–१ को अग्रता दिलाए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन ।

६२ औं मिनेटमा बार्सिलोनाका नेल्सन सेमेडोले पेनाल्टी क्षेत्रभित्र एट्लेटिकोका यानिक करास्कोलाई लडाएपछि एट्लेटिकोले फेरि पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी पनि साउलले प्रहार गर्दै खेललाई बराबरीमा ल्याइपुर्याए । त्यसपछि दुबै टोलिबाट थप गोल हुन नसक्दा खेल २–२ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा एक अंकले पछि परेको छ । बार्सिलोनाले ३३ खेलबाट ७० अंक जोड्दै दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियलको ७१ अंक छ । एट्लेटिकोको भने ३३ खेलबाट ५९ अंकसहित तेस्रो स्थानमा यथावत छ ।