कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम लागू

Newslaya Home

कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम लागू

मङ्गलबार १६, असार २०७७

काठमाडौं । कक्षा ११ मा यसै शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो ।

नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न आवश्यक तयारी भइरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए ।

कक्षा १ मा पनि यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्ने तयारी रहेको छ । त्यसअनुसार अब कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्नुपर्नेछ ।

यसअघि नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य रहेको कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुुसार अब नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्नेछ ।

ऐच्छिक विषय भने तीनवटा नै रहनेछन् । विद्यार्थीले चाहेमा एक सय पूर्णाङ्कको थप एक विषयको परीक्षासमेत दिन पाउनेछन् ।
अनिवार्य तीनवटा विषयको पाठ्यपुस्तक लेखन कार्य चलिरहेको बताइएको छ ।