धनकुटामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Newslaya Home

धनकुटामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मङ्गलबार १६, असार २०७७

धरान । धरान धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विराटनगरबाट फलाम, रड लगायतका सामान बोकेर संखुवासभातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ट्रकका सहचालक तथा गाडी मालिक मानबहादुर कार्की भने सामान्य घाइते भएका छन् । उनी अहिले भेडेटार प्रहरी चौकीको नियन्त्रणमा छन् । दुर्घटनामा मृत्यु भएका चालक श्रेष्ठको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याउने तयारी भइरहेको छ ।

ट्रक पल्टिँदा सडक छेउमा रहेको स्थानीय अर्पणा लिम्बूको घर किचेको छ । ट्रकले घर किच्दाँ लिम्बूको १२ वर्षीया छोरी अजुनु लिम्बू सामान्य घाइते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।