वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारीको तलब २० प्रतिशत बढ्ने

Newslaya Home

वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारीको तलब २० प्रतिशत बढ्ने

मङ्गलबार १६, असार २०७७

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि भएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सर्कुलर जारी गर्दै ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्नसक्ने निर्णय गरेअनुसार तलब वृद्धिको निर्णय भएको जनाएका छन् । वृद्धि भएको तलब १ साउन २०७६ देखि लागु हुने उपकुलपति डा.गिरीको सर्कुलरमा उल्लेख छ ।
सर्कुलर अनुसार श्रेणीविहिनदेखि सहायक स्तरसम्मका कर्मचारीहरुको बेसिक तलब २० प्रतिशत वृद्धि भएको छ ।

अधिकृतस्तरदेखि डेपुटी रजिष्ट्रारसम्मका कर्मचारीहरुको १५ प्रतिशत वृद्धि भएको छ भने सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरुको हकमा बेसिक तलबमा १० प्रतिशतका दरले तलब वृद्धि गर्ने निर्णय भएको छ । नियमअनुसार आकर्षण भत्ता पाउने शिक्षकलाई समेत १० प्रतिशत लागु हुनेछ ।

श्रेणीविहिन कर्मचारीलाई वृद्धि तलब शतप्रतिशतले हुन आउने रकम १५ गते असारसम्म उपलब्ध गराउने र बाँकी अन्य पदाधिकारी, शिक्षक र कर्मचारीहरुलाई स्रोतको उपलब्धता भएसँगै क्रमिकरुपमा उपलब्ध गराउदै जाने उल्लेख छ ।