एमसीसीको म्याद थप्ने सहमति 

Newslaya Home

एमसीसीको म्याद थप्ने सहमति 

मङ्गलबार १६, असार २०७७

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी हुने म्याद थप्ने सहमति भएको छ । कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव गरेको थियो । सोहीअनुसार एमसीसी तयार भएको हो ।

राजनीतिक दाउपेचका कारण विवादित एमसीसी सम्झौता अनुमोदन संसद्मा अड्किएको छ । एमसीए–नेपालले यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय भएको भन्दै छिटो निर्णय लिन सरकारलाई आग्रह गरेको जानकारी दिएको छ । यसअन्तर्गतको कोषको उपलब्धता सधैं खुला नरहने पनि उसले बताएको छ।

‘यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्’, एमसीए नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।

एमसीए नेपाल र सरकारबीच असार १६ देखि परियोजना कार्यान्वयनको थालनी गर्ने सहमति भए पनि तत्काल राष्ट्रिय सहमतिमार्फत संसद्बाट सम्झौता अनुमोदन हुन सकेको छैन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सम्झौताको म्याद थपको गृहकार्यस्वरूप गत सातादेखि पहल गरिरहेका छन् । अमेरिकी राजदूत तथा नेपालका लागि एमसीसीका आवासीय निर्देशक ट्रोय कोफरोथसँग यसबारे केही दिनअघि छलफल भएको थियो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार म्याद थपबारे निर्णय लिने तयारी भए पनि कोरोना भाइरसलाई कारण देखाउँदै अझै अन्तिम रूप दिइएको छैन ।

एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल भइसकेको एमसीएले जनाएको छ । एमसीएका प्रमुख खड्ग विष्टले दुवै पक्षले छलफल गरी एमसीसीको म्याद थप्न सक्ने बताए ।

नेपाल सरकार र अमेरिकाबीच २०७४ भदौ २९ मा ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ सम्झौता भएको थियो । त्यसअनुसार अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइन निर्माण, सडक स्तरोन्नतिका लागि ५० करोड अमेरिकी डलर अर्थात् करिब ५५ अर्ब रुपैयाँ नेपाललाई अनुदानका रूपमा दिने उल्लेख छ । सम्झौताअन्तर्गतको सहयोग कार्यान्वयन भएको मितिदेखि पाँच वर्षमा परिचालन गरिसक्नुपर्ने सर्त छ । त्यसो हुन नसके बाँकी अनुदान फिर्ता जाने प्रावधान छ ।