सुस्मिता हत्यामा संलग्न अभियुक्त सार्वजनिक

Newslaya Home

सुस्मिता हत्यामा संलग्न अभियुक्त सार्वजनिक

सोमबार १५, असार २०७७

मकवानपुर । हेटौंडामा भएको सुस्मिता थापाको हत्यामा संलग्नलाई सोमबार (आज) मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।

गत असार २ गते हेटौंडा –४, सूर्यचौकमा भएको सुस्मिता थापाको हत्यामा मृतककै ससुरा प्रकाश थापा, सासु तुलसा थापा, नन्द सीता थापा र आमाजू दुर्गा थापा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार करीब ९ महिनाअघि सवारी दुर्घटनामा छोरा रुपेन्द्र थापाको मृत्यु भएपछि बुहारीलाई घरका सदस्यहरूले मानसिक यातना दिने र ससुरा प्रकाश थापाले यौन दुर्व्यवहारको प्रयास गर्ने गरेको जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरीले हत्याको कारण यौन दुर्व्यवहारको घटना लुकाउन र दुर्घटनामा छोराको ज्यान गएपछि पाउने क्षतिपूर्ति करीब ४० लाख रुपैयाँका लागि बुहारी सुस्मिताको हत्या गरेको जनाएको छ ।

प्रहरीका अनुसार मृतक सुस्मिताका ससुरा प्रकाश थापाले छोराको नामबाट आउने सबै रकम आफूलाई नै दिनुपर्ने दबाव दिँदै आएका थिए । दुर्घटनामा मृत्यु भएका रिपेन्द्र थापाको बीमा वापतको १० लाख ६३ हजार रुपैयाँ प्रकाश थापाले लिइसकेको समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

असार १ गते राति खाना खाने समयमा मृतक सुस्मितालाई भान्सा कोठामा मसला पिस्ने लोहोरोले टाउकोमा हिर्काएर हत्या गरेपछि आत्महत्याजस्तो देखाउन प्रकाश भान्सा कोठाको ढोका बन्द गरी झ्यालबाट निस्किएको प्रहरी अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्नहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम क्रुर यातना दिई ज्यान मार्ने कसूरमा जन्मकैद हुने प्रावधानअनुसार कारबाही अघि बढ्ने जनाएको छ ।