कोरोनाको नक्कली औषधि बनाएको आरोपमा रामदेवसहित पाँच जनाविरूद्ध प्रहरीमा उजुरी

Newslaya Home

कोरोनाको नक्कली औषधि बनाएको आरोपमा रामदेवसहित पाँच जनाविरूद्ध प्रहरीमा उजुरी

सोमबार १५, असार २०७७

काठमाडौं । स्वीकृति नलिई कोरोना निको पार्ने दावी गरिएको औषधि सार्वजनिक गरेको भन्दै भारतीय योगगुरु रामदेवसहित पाँच जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

प्रहरीका डेप्युटी कमिशनर अशोक गुप्ताका अनुसार रामदेवसहित पाँच जनामाथि अधिवक्ता बलराम झक्कडले राजस्थानस्थित ज्योति नगर प्रहरी चौकीमा उजुरी दर्ता गरेका हुन् ।

यो मात्रै नभई विभिन्न प्रहरी चौकीहरुमा रामदेवविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आयुष मन्त्रालयको स्वीकृति नलिई कोभिड-१९ निको पार्ने भन्दै आयुर्वेदिक औषधी सार्वजनिक गरेकाले रामदेवविरुद्ध एफआइआर दर्ता भएको हो ।

रामदेव मात्रै नभई पतञ्जली आयुर्वेदका अन्य चार एमडीहरू, जयपुरको नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड रिसर्चका निर्देशक आचार्य बालकृष्ण, बिएस तोमर, अनुराग तोमर र सिनियर बैज्ञानिक अनुराग अनुराग वाष्णेयको नाम पनि एफआइआरमा उल्लेख छ ।

हरिद्धारमा रहेको पतञ्जली आयुर्वेदले कोभिड-१९ निको पार्ने भन्दै मंगलबार ‘कोरोनिल’ औषधि सार्वजनिक गरेको थियो । यो औषधि कोभिड-१९ पोजेटिभ देखिएका बिरामीहरूमा सात दिने प्रयोग गरेको र यसले निको पारेको दावी समेत गरिएको थियो ।