इलाममा कोरोना नेगेटिभ भनेर घर पठाइएका एक युवकमा देखियो संक्रमण

Newslaya Home

इलाममा कोरोना नेगेटिभ भनेर घर पठाइएका एक युवकमा देखियो संक्रमण

सोमबार १५, असार २०७७

इलाम । माई नगरपालिकामा कोरोना संक्रमण नेगेटिभ भनेर घर पठाइएका एक युवामा लक्षण पोजेटिभ देखिएको छ ।

असार ४ गते भारतको गुजरातबाट आएका माई नगरपालिका–३ बरपानीका युवामा शनिबार नेगेटिभ रिपोर्ट भनिएको थियो । तर आइतबार बिहान उनमा कोरोनाको संक्रमण देखिएको विराटनगरबाट जानकारी आएपछि उपचारका लागि गोठ गाउँमा रहको पूर्वाञ्चल विश्वविद्यालयको कोरोना अस्पताल लगिएको माई नगरपालिकाका प्रशासकीय अधिकृत नवीन पौडेलले जानकारी दिए ।

ती युवामा संक्रमण देखिएपछि उनको घर सिल गरिएको छ । परिवारलाई होम क्वारेन्टाइनमा राखेर एक सातापछि पिसिआर टेस्ट गरिने भएको छ ।

छिमेकीहरुलाई समेत कोरोना सुरक्षासम्बन्धी अत्यावश्यक सामग्री वितरण गर्ने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख पुस्कर कट्टेलले बताए । संक्रमित युवाको स्वाब गत असार ९ गते संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । उनीसँगै गरुवा बहुमुखी क्याम्पसमा १४ जना र फ्रन्ट लाइनका खटिने २४ जना गरी ३८ जनाको पिसिआर परीक्षण गरिएको कट्टेलले जानकारी दिए ।

यसैबीच उनीसँगै गुजरातबाट आएका माई १० का २६ वर्षीय पुरुषको पनि पिसिआर नेगेटिभ आएको र थप परीक्षणका लागि क्वारेन्टाइनमै राखिएको छ । माईमा भेटिएसँगै इलामका ३ स्थानीय तहमा कोरोना पोजेटिभ भेटिएको छ । यसअघि सूर्योदय नगरपालिकामा ६ जना र इलाम नगरपालिकाका १ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उनीहरु मध्ये २ जना उपचारपछि घर फर्किएका छन् । अन्य ५ जना शनिबार पोजेटिभ भेटिएपछि उपचारमा छन् ।