आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Newslaya Home

आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आइतबार १४, असार २०७७

काठमाडौं । आज देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानहरूमा भने भारी वर्षा हुनेछ ।

मौसम विभागद्वारा जारी विज्ञप्तिमा पानी पर्ने क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भोलि पनि देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेश थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पर्सि, १६ असारमा देशका अधिकांश भू–भागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।