‘फेयर एन्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन गरिने

Newslaya Home

‘फेयर एन्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन गरिने

शनिबार १३, असार २०७७

काठमाडौं ।‘फेयर एन्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन गरिने भएको छ । फेयर एन्ड लभ्ली क्रिमको उत्पादक बहुराष्ट्रिय बेलायती–डच कम्पनी युनिलिवरले यस क्रिमले छालामा गोरोपन ल्याउने दाबीसहित विज्ञापन गर्ने गरेको थियो । जसको कारण विवाद उत्पन्न भएको थियो । अब भने यस कम्पनीले गोरोपन र रंगभेदलाई बढावा दिनेगरी फेस क्रिमको विज्ञापन नगर्ने वाचा गरेको छ ।

कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै एक हप्ताभित्र ‘फेयर एन्ड लभ्ली’ ब्रान्डको नाम नै परिवर्तन गर्ने जनाएको छ । यतिमात्रै होइन कम्पनीले अब आफ्ना उत्पादनमा गोरो वा गोरोपन जस्ता शब्दको प्रयोग गर्नेछैन । कम्पनीका अनुसार स्किन केयर क्याटागोरीवाला उत्पादनमा सुन्दरतालाई लिएर परिभाषा बदलिएको छ र यसमा सबै तप्कालाई सहभागी गराइनेछ ।

अमेरिकामा जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ नारा अहिले विश्वभर चर्चामा छ । र, गोरोपन ल्याउने दाबीसहित आफ्ना उत्पादन बेच्ने कम्पनीहरु रंगभेदलाई प्रश्रय दिएको भन्दै आलोचित भइरहेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यस्ता उत्पादन र यसको विज्ञापनमा अभिनय गर्ने कलाकारहरुमाथि पनि निशाना साँधेका छन् ।

यही आलोचनापछि यसै महिना युनिलिवरको प्रतिस्पर्धी कम्पनी ‘जोनसन एन्ड जोनसन’ ले गोरोपनलाई बाढावा दिने क्रिमको बिक्री बन्द गरिने जनाएको थियो । भारतमा ‘फेयर एन्ड लभ्ली’ १९७५ देखि बिक्री हुँदै आएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो वर्ष युनिलिबरले केवल भारतीय बजारमा मात्रै ५० करोड डलरको ‘फेयर एन्ड लभ्ली’ बचेको थियो ।

भारतमा ‘फेयर एन्ड लभ्ली’ को मार्केटिङ बन्द गर्नका लागि युनिलिवरसँग वर्षौदेखि माग गरिएको थियो, तर अहिले यो आवाज फेरि बलियो भएको छ । यसै महिना चेन्ज डट ओआरजी अनलाईनमार्फत हजारौं मानिसको समर्थनसहितका दर्जनौं याचिका दाखिल गरिएको थियो । ‘फेयर एन्ड लभ्ली’ ब्रान्ड भारत, नेपाल, बंगलादेश, इन्डोनेशिया, थाइल्यान्ड, पाकिस्तान र एशियाका अन्य देशमा पनि बिक्री हुन्छ ।