नेपालमा पनि देखा पर्यो सलह किराको समूह

Newslaya Home

नेपालमा पनि देखा पर्यो सलह किराको समूह

शनिबार १३, असार २०७७

काठमाडौं । अफ्रिकी महादेशबाट पाकिस्तान तथा भारत प्रवेश गरेको सलह किराको हुल नेपालमा प्रवेश गरेको छ ।

भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो । शनिबार बिहान बाराको निजगढ नगरपालिका, रौतहटको उत्तरी भेग तथा सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएको कृषि मन्त्रालय स्रोतले जनाएको छ ।

निजगढ नगरपालिकामा सलह कीराको झुण्ड देखिएपछि कृषि ज्ञान केन्द्र बाराको टोलीले स्थलगत अध्ययन गरिरहेको जनाइएको छ । भारतसँग सिमाना जोडिएका सर्लाहीको नवलपुर र बाराको निजगढमा सलहको झुण्ड देखा परेसँगै कृषि मन्त्रालयले नेपालमा पनि सलह भित्रिएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

सलह नै भएको पुष्टि भएपनि कुन प्रकारको हो भन्ने बारे अझै पुष्टि हुन बाकी रहेको कृषि विभागका सूचना अधिकारी महादेव प्रसाद पौडेलले जानकारी दिए ।

निजगढ नगरपालिकाको विभिन्न क्षेत्रमा चार ओटा झुण्ड बनाएर सलह बसेको स्थानीयको दाबी छ । भारतको उत्तर प्रदेशमा जेठको दोस्रो साता सलहको झुण्डले बालीनाली सखाप पारेको थियो ।

सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज आकस्मिक रुपमा बैठक बोलाएको छ ।