विराटनगरमा एकै परिवारका तीन जना मिलेर छिमेकीमाथि छुरा प्रहार

Newslaya Home

विराटनगरमा एकै परिवारका तीन जना मिलेर छिमेकीमाथि छुरा प्रहार

शनिबार १३, असार २०७७

विराटनगर । विराटनगर महानगरपालिका–५ कोचाखालमा एउटै परिवारका तीन जना दाजुभाई मिलेर छिमेकीमाथि छुरा प्रहार गरेका छन् ।

शुक्रबार राति परिवारका तीन जना मिलेर छिमेकी ३३ वर्षीय सन्तोश कामतमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

डोजर बोलाएर आफ्नो घर अगाडि खन्न लगाएको भन्दै तीन दाजुभाई १९ वर्षीय सुरज, २८ वर्षीय गोविन र ३८ वर्षीय लालबाबु राय मिलेर कामतमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका कामतको पेट र देव्रे हातमा गहिरो चोट लागेको जनाइएको छ । विराट नर्सिङ होममा उपचाररत कामतको अवस्था खतरामुक्त रहेको डीएसपी गौतमले जानकारी दिए ।
छुरा प्रहारपछि फरार रहेका तीनै जनालाई शनिबार बिहान प्रहरीले विराटनगरकै विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

लगातारको वर्षाले विराटनगरको कोचाखाल क्षेत्र डुबानमा पर्ने अवस्था आएको र वस्ती डुबानमा पर्न लागेको खवरसँगै महानगरपालिका कार्यालयले जाम भएको नाला खुलाउन डोजर पठाएको स्थानीय बासिन्दाले जनाएका छन् ।
डोजरले जाम भएको नाला खुलाउने क्रममा राय परिवारको घर अगाडि खन्न थालेपछि विवाद सुरु भएको पाइएको प्रहरीले जनाएको छ ।