आज बिहानै काठमाडौं आइपुगे ४ सय ६८ नेपाली

Newslaya Home

आज बिहानै काठमाडौं आइपुगे ४ सय ६८ नेपाली

शनिबार १३, असार २०७७

काठमाडौं । आज (शनिबार) बिहानै ४ सय ६८ जना नेपाली काठमाडौं आइपुगेका छन् । कतारको दोहाबाट २४१ जना, हङ्कङबाट १ बच्चासहित ८१ जना र यूएई १४६ जना विभिन्न चार्टर्ड उडानमार्फत बिहान काठमाण्डौ आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आजै साउदीको दमामबाट १५४ जना नेपाली फर्कंदै छन् भने साउदीको रियादबाट पनि नेपालीहरु फर्कने तालिका रहेको विमानस्थलले जनाएको छ ।

कुवेतबाट पनि त्यहाँ आममाफीमा सहभागी नेपालीहरु स्वदेश फर्कंदै छन् । कुवेत सरकार आफैंले त्यहाँ समस्यामा रहेका नेपालीलाई स्वदेश ल्याइदिइरहेको छ ।

यस्तै आज साउदीबाट आउने जहाजले १६ जना नेपालीको शव ल्याउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बोर्ड र दूतावासको समन्वयमा शव ल्याउने काम भइरहेको छ ।

यसरी ल्याइएका शव बोर्डले नै निःशुल्क घरसम्म पुर्‍याइदिने गरेको छ । लकडाउनका कारण आफन्त शव बुझ्न विमानस्थलसम्म आउन नपाएमा बोर्ड आफैंले शव बुझेर घरसम्म पुर्‍याइदिइरहेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।