असार १५ अघि नै २० प्रतिशत रोपाइँ सकियो

Newslaya Home

असार १५ अघि नै २० प्रतिशत रोपाइँ सकियो

शनिबार १३, असार २०७७

काठमाडौं । असार १५ अघि नै देशभर २० प्रतिशत रोपाइँ सकिएको छ । उच्च पहाडी क्षेत्रका किसानले २६ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार तुलनात्मक रुपमा यो वर्ष उच्च पहाडी क्षेत्रमा रोपाइँ समयमै भएको हो । उच्च पहाडी क्षेत्रमा रोपाइँका लागि क्षेत्रफल कम भएकाले उक्त क्षेत्रमा असारको सुरुवाति समयमै बढी परिमाणमा रोपाइँ सम्पन्न भएको हो । यसपछि मध्य पहाडी क्षेत्रमा २० प्रतिशतको परिमाणमा रोपाइँ भएको छ ।

सबैभन्दा कम तराई क्षेत्रमा १९.७५ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ । देशभर औसत रोपाइँ २० प्रतिशत सम्पन्न भएको हो । अघिल्लो वर्ष यस अवधिमा ११.६४ प्रतिशत हाराहारी रोपाइँ सकिएको थियो । हालसम्म २ लाख ७५ हजार २९ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

नेपालमा कूल खेती हुने क्षेत्रफलको ४७ प्रतिशत हेक्टरमा धान खेती हुन्छ । देशभर गरी धान खेती हुने क्षेत्रफल १५ लाख ५२ हजार हेक्टर भए पनि १४ लाख ५८ हजार हेक्टरमा मात्रै बर्खे धान लगाइन्छ । बाँकीमा चैते धान हुन्छ । केसीकाअनुसार यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराइँ क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ ।

किसानले यो वर्ष रोपाइँका लागि रासायनिक मलको चर्को अभाव खेपिरहेका छन् । रासायनिक मल उपलब्ध गराउने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मुख्य गरी युरिया मलको मौज्दात सकिँदा उक्त मल किसानले पाउन सकेका छैनन् । जीडीपीमा धानको योगदान ७ प्रतिशत छ ।

धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुने गर्छ । जुन वर्ष धानको उत्पादन घट्छ, त्यो वर्ष जीडीपीको अवस्था पनि खुम्चिन्छ। यो वर्ष सरकारले पहिलोपटक रोपाइँ सुरु हुनुअघि धानको समर्थन मूल्य तोकेको छ ।