अमेरिकामा एकै दिन हालसम्मकै बढी कोरोना संक्रमित थपिए

Newslaya Home

अमेरिकामा एकै दिन हालसम्मकै बढी कोरोना संक्रमित थपिए

शनिबार १३, असार २०७७

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक तीव्र रूपमा वृद्धि भइरहेको छ । त्यहाँ शुक्रबार हालसम्मकै बढी दैनिक संक्रमित फेला परेका छन् ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शनिबार बिहानसम्म कुल संक्रमित संख्या २५ लाख ५२ हजार नाघेको छ । शुक्रबार एकै दिन मात्र त्यहाँ ४७ हजार ३४१ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा यो नै हालसम्मकै बढी दैनिक संक्रमणको केस रहेको बताइएको छ ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजोर हुँदै गएको बताइन्छ । किनकि संक्रमण दरको तुलनामा मृत्युदर घटिरहेको छ भने निको हुनेको संख्या पनि बढिरहेको छ । अझ सक्रिय उमेर युवाहरूमा संक्रमण बढी फैलिरहनुले यो कमजोर हुँदै गइरहेको बताइन्छ ।

हाल अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या कम हुँदै गएको छ । त्यहाँ हालसम्म १ लाख २७ हजार ६४० जनाको भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ । शुक्रबार त्यहाँ कोरोनाबाट ६६३ को ज्यान गएको छ, बिहीबार पनि ६४९ जनाको मृत्यु भएको थियो । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ ।

तर अहिले अमेरिकामा निको हुनेको संख्या बढिरहेको छ । हालसम्म १० लाख ६८ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निको भइसकेको जनाइएको छ । यद्यपि अझै १३ लाख ५६ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेको छ ।