आज विभिन्न देशमा अलपत्र परेका ८९४ नेपालीको उद्धार

Newslaya Home

आज विभिन्न देशमा अलपत्र परेका ८९४ नेपालीको उद्धार

शुक्रबार १२, असार २०७७

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण विदेशमा अलपत्र परेका ८९४ नेपालीको उद्धार गरिएको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार बहराइन, कुवेत, मलेसिया र यूएईबाट करिब ९ सयको संख्यामा नेपालीको उद्धार गरिएको हो ।

शुक्रबार काठमाडौं आइपुगेकामध्ये बहराइन, कुवेत, मलेसिया र यूएईमा अलपत्र रहेका नेपाली छन् । मलेसिया र बहराइनबाट दुई उडान र अन्य देशको एक उडानबाट उनीहरुलाई नेपाल ल्याइएको हो ।

बहराइनबाट दुई उडानमा दुई सय ७०, मलेसियाबाट दुई उडानमा तीन सय ६ जना नेपाली काठमाडौं आइपुगेका छन् । त्यसैगरी कुवेतबाट १६० र यूएईबाट १५८ जनाको उद्धार गरिएको सेन्टरले जनाएको छ ।

उद्धार गरिएका सबैलाई स्वास्थ्य परीक्षण एवम् स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार प्रदेश अनुसार तयार पारिएका होल्डिङ सेन्टरमा राखिएको छ ।

होल्डिङ सेन्टरमा नेपाल आएका व्यक्तिको विवरण, स्वास्थ्य परीक्षण लगायत आवश्यक प्रक्रिया पूरा गरेर प्रदेशको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा पठाउने तयारी भइराखेको छ ।