यो वर्ष धान रोप्दा हिलो छ्याप्न नपाइने, मास्क र स्यानिटाइजर अनिवार्य

Newslaya Home

यो वर्ष धान रोप्दा हिलो छ्याप्न नपाइने, मास्क र स्यानिटाइजर अनिवार्य

शुक्रबार १२, असार २०७७

काठमाडौं । असार १५ गते मनाइने राष्ट्रिय धान दिवसमा यस वर्ष हिलो खेल्न नपाइने भएको छ ।

कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरिएको छ ।

‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने आदि) गतिविधि नगर्ने’ कृषि विभागले तयार पारेको प्रोटोकलमा भनिएको छ ।

सीमित सहभागिता र सुरक्षा मापदण्ड पालना गरी महोत्सवको कार्यक्रम गरिने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताए ।

सामान्यतया रोपाइँ महोत्सवमा धान रोप्न ठिक्क पारेको खेतमा एक अर्कामा हिलो छ्यापेर रमाइलो गर्ने गरिन्छ । तर यसवर्ष सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट (२ मिटर) दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।

सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १००.४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा प्रवेश नदिने पनि रोपाइँ महोत्सव प्रोटोकलमा उल्लेख छ ।

महोत्सवमा प्रवेश गर्नुअघि मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउनुपर्नेछ । खाजा वा चिया खाने बेला, आवतजावत गर्दा कम्तीमा ६ फिटको दुरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने नियम पनि सरकारले बनाएको छ ।

यस वर्ष १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको औपचारिक कार्यक्रम भने कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको सहभागितामा उदयपुरको त्रियुगा नगरपालिका हुनेछ ।

काठमाडौं उपत्यकामा भने कृषि विभागले खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को हातामा कार्यक्रम गर्नेछ ।