पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

Newslaya Home

पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

शुक्रबार १२, असार २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै शुक्रबार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११,७५५ पुगेको छ । तीमध्ये २,६९८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयले थप ४८ जना निको भएको तथा एक जनाको मृत्यु भएको शुक्रबार पुष्टि गरेको हो ।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ ।

बिहीबार विभिन्न जिल्लामा ४३४ जना र बुधबार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

को हुन् मृतक ?
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार कोभिड-१९ पुष्टि भएकी मृतक दाङमा फेला परेकी थिइन् ।

असार ११ गते अचेत अवस्थामा फेला परेकी र अस्पतालले मृत घोषित गरेकी ती अन्दाजी २५-३० वर्षीया ती महिलाको नाम परिचय खुलेको छैन ।

मरणोपरान्त उनीबाट सङ्कलित नमुना सङ्कलन गर्दा ती महिलामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उनले बताए । परीक्षणको परिणाम शुक्रवार आएको थियो ।