नेपालमा थप दुई कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको कुल संख्या २६ पुग्यो

Newslaya Home

नेपालमा थप दुई कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको कुल संख्या २६ पुग्यो

बिहीबार ११, असार २०७७

काठमाडौं । नेपालमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको कुल संख्या २६ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५५ वर्षीय एक पुरुष र ललितपुरको पाटन अस्पतालमा ५० वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियूमा ८ असारमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनी निमोनिया र मधुमेह रोगबाट पीडित थिए ।

ललितपुरको पाटन अस्पतालमा बिहीबार ५० वर्षीय पुरुषको मृत्यु भएको हो । चितवन घर भएका उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण भएको थियो । गौतमले उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको जानकारी दिए ।