सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु, मृतकका परिवारलाई एक–एक लाख सहयोग दिइने

Newslaya Home

सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु, मृतकका परिवारलाई एक–एक लाख सहयोग दिइने

बिहीबार ११, असार २०७७

राजविराज । सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान कोसीमा नुहाउन गएका बेला कोसी ब्यारेजको पुल नजिक चट्याङ लागेर महदेवा गाउपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको हो ।

घरमा पूजा लगाएर नुहाउन कोसी ब्यारेज पुगेका उनीहरुको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले जानकारी दिए ।

यसैगरी खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चटयाङ लागेर गम्भीर घाइते रहेका राजगढ गाउँपालिका स्थित बेल्ही चपेनाका ४५ वर्षीय केसीलाल साहको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।

यस्तै आँगनमा काम गरिरहेको अवस्थामा चट्याङले लागेर गम्भीर घाइते भएकी १८ वर्षीया आशा मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको जनाइएको छ ।

मृत्यु भएका तीन परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकार घटनाबाट मर्माहत भएको बताउँदै तीनैजनाको परिवारलाई एक–एक लाख रुपैयाँ दिने बताए ।