खोटाङमा गर्भवती महिलाको निःशुल्क हवाई उद्धार

Newslaya Home

खोटाङमा गर्भवती महिलाको निःशुल्क हवाई उद्धार

बिहीबार ११, असार २०७७

खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका–२ की गर्भवती मन्दिरा विश्वकर्माको स्वास्थ्यमा समस्या पछि निःशुल्क हवाई उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान इकाइले गर्भवती महिलाको पेटभित्रै बच्चा मृत अवस्थामा भेटिएका कारण स्वास्थ्य जोखिममा परेपछि हेलिकप्टरबाट उद्धार गरेको हो ।

गत सोमबार राति सुत्केरी बेथाले च्यापेपछि जिल्ला अस्पतालमा खोटाङमा भर्ना भएकी मन्दिराको पेटमै बच्चा मृत अवस्थामा रहेको पाइएपछि उपचारका लागि मङ्गलबार अपराह्न काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा पठाइएको अस्पतालका मेडिकल अधिकृत डा. नारायण बरालले जानकारी दिए ।

सुत्केरी बेथाले च्यापेर सिकिस्त भएकी गर्भवती निःशुल्क हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान समन्वय इकाइकी प्रमुख अञ्जु ढुङ्गानाले बताइन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई निःशुल्क हवाई उद्धार गर्दै आएको छ । बन्दाबन्दीको यस अवधिमा मात्रै १८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।