विराटनगरको बजेट : अघिल्लो वर्ष ५ अर्ब १२ करोड, यो वर्ष ३ अर्ब ३७ करोड

Newslaya Home

विराटनगरको बजेट : अघिल्लो वर्ष ५ अर्ब १२ करोड, यो वर्ष ३ अर्ब ३७ करोड

बुधबार १०, असार २०७७

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाले तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेको छ । यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा ३४ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा विराटनगरले ५ अर्ब १२ करोडको बजेट सार्वजनिक गरेको थियो ।

आगामी आर्थिक वर्ष २०७७ ०७८ का लागि बुधबार शुरु भएको छैठौं नगर सभामा उप–प्रमुख इन्दिरा कार्कीले बजेट सार्वजनिक गरेकी हुन् ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट ८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० प्राप्त हुने अनुमान गरेको छ । प्रस्तुत बजेट मध्ये संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ३८ करोड ७ लाख ६८ हजार प्राप्त गर्ने अनुमान गरिएको छ ।

महानगरले सङ्घीय सरकारसँग सशर्त अनुदानबाट एक अर्ब दुई करोड नौ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट दुई करोड १० लाख नौ हजार एकसय ८०, सङ्घीय सरकारसँग बिशेष अनुदानबाट १३ करोड, प्रदेश सरकार समपूरक अनुदानबाट तीन करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट तीन करोेड २६ लाख ७८ हजार एकसय ८० र जनसहभागिताबाट नौ करोड ६२ लाख पाँच हजार रुपैया आयको अनुमान गरेको छ ।

प्रस्तुत बजेटमा महानगरपालिको प्रशासनिक खर्च तर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ ३६ करोड र ल्याडफिल्डको जग्गा खरिद सहित वातावरण तथा फोहोरमैला व्यवस्थापन तर्फ ११ करोड ४९ हजार ५० हजार रुँपैया बराबरको बजेट विनियोजन गरिएको छ ।

विराटनगर महानगरका गर्भवती महिला, जेष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्स, सबैलाई निःशुल्क शववाहन र निःशुल्क रक्त सेवा प्रदान गर्ने भएको छ ।

यसैगरी सहज स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि निश्चित स्थानहरूबाट फिजियोथेरापी सेवा उपलब्ध गराउने योजना पनि महानगरपालिकाले योजना बनाएको छ । विराटनगर महानगरपालिकाले ‘छोरी बचाउ छोरी पढाउ’ कार्यक्रमका लागि आमाहरूलाई प्रोत्साहन गर्ने र ८४ वर्षभन्दा माथिका नागरिकलाई पोषण भत्ता दिने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिएको छ ।

महानगरपालिकाले आफ्नै फार्मेसी सेवा सञ्चालन गर्ने भएको छ । प्रेसर, डायवेटिज, मुटु, आदि जीवनभरि औषधि खाने बिरामीहरूका लागि सहुलियत दरमा औषधि उपलब्ध गराउन विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि आफ्नै फार्मेसी सञ्चालन गराउने नीति लिएको छ । साथै नियमित स्वास्थ्य जाँच गराउनुपर्ने दीर्घ रोगीहरूका लागि सहुलियत दरमा ल्याव सेवा, ईसिजी, भिडियो एक्सरे रगत जाँचसहित होलबडी चेकअपको व्यावस्था पनि महानगरले गरिदिने छ ।

उपचार सम्भव नभएपछि अस्पतालबाट घरमै फर्काएका क्यान्सरका अशक्त बिरामीहरूको मरण सहज बनाउन विराटनगर महानगरपालिकाले ‘पेनेटिभ केयर’ सेवा प्रदान गर्ने भएको छ ।