अंगिकृत नागरिकता विधेयकको विरोधमा जनकपुरधाममा आज पनि प्रदर्शन

Newslaya Home

अंगिकृत नागरिकता विधेयकको विरोधमा जनकपुरधाममा आज पनि प्रदर्शन

बुधबार १०, असार २०७७

जनकपुरधाम । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिने नागरिकता ऐन संशोधन विधेयकको विरोधमा जनकपुरधाममा आज (बुधबार) पनि प्रदर्शन भएको छ । पछिल्लो चार दिनदेखि जनकपुरधाममा विरोध प्रदर्शन भइरहेको छ ।

विधेयकप्रति असंतुष्टि जनाउँदै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरु प्रदर्शन गरिरहेका छन् ।

‘संशोधित नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा दे’, ‘केपी ओली तेरो पाराले, दुःख पायो साराले, महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर, केपी ओली मुर्दावाद, रोटी(बेटीको सम्बन्ध बिगार्न पाइदैन, लगायतका नारासहित उनीहरुले प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा जसपाका नेता रामअशिष यादव, शेषनारायण यादव, धिरेन्द्र बहादुर सिंह, रामबिनोद पप्पु, संजय साह, सदाशिव मिश्रा, पशुपति यादव, विभा ठाकुर, विन्दु ठाकुर, पुनम झा मैथिली लगायतका नेता तथा कार्यकर्ताहरुले सडक जाम गरेर प्रदर्शन गरेका छन्।

नेकपाले ७ वर्षपछि मात्र नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरेको छ भने नेपाली काँग्रेस र जनता सामाजवादी पार्टी यसको विरोध जनाउँदै आएको छ।