इटहरीको आन्तरिक आय अनुमानितभन्दा तीन गुणा कम (पूर्णपाठ)

Newslaya Home

इटहरीको आन्तरिक आय अनुमानितभन्दा तीन गुणा कम (पूर्णपाठ)

बुधबार १०, असार २०७७

इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७८ करोड रुपैयाको बजेट विनियोजन गरेको छ ।

बजेटको सबैभन्दा ठूलो स्रोतको रुपमा संघीय सर्शत अनुदानलाई अनुमान गरिएको छ । जसबाट ४१ करोड़ १८ लाख रुपैया प्राप्त हुने अनुमान गरिएको छ भने आन्तरिक आयबाट ३८ करोड १५ लाख रुपैया प्राप्त हुने अनुमान गरिएको छ । यो अनुमान अघिल्लो आर्थिक वर्षको भन्दा १० करोड रुपैया कम हो । अघिल्लो आर्थिक वर्षमा ४८ करोड रुपैया आन्तरिक आयबाट प्राप्त हुने अनुमान गरिएको थियो ।

तर १४ करोड रुपैया मात्र आय भएको उपमेयर लक्ष्मी गौतमले सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट वक्तव्य कार्यक्रममा उल्लेख छ । घर बहाल कर अपेक्षित उठ्न नसकेको बताइएको छ ।

यस्तै संघीय सरकारबाट प्राप्त समानिकरण अनुदानबाट ३० करोड ९२ लाख रुपैया, संघिय राजश्व बांडफांडवाट १५ करोड़ ५ लाख ८६ हजार ४१० रुपैया प्राप्त हुने अनुमान छ ।

चालुतर्फ रू ७१ करोड़ ७५ लाख, पूंजीगततर्फ रू १ अर्ब ४ करोड़ ८५ लाख र वित्तीय व्यवस्थातर्फ रू १ करोड ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

नगरले यो पटक कृषि, स्वास्थ्यलाई प्राथमिकता दिएको छ ।