विराटनगर महानगरपालिकाको बजेट सार्वजनिक

Newslaya Home

विराटनगर महानगरपालिकाको बजेट सार्वजनिक

बुधबार १०, असार २०७७

विराटनगर। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेको छ। महानगरका प्रमुख भीम पराजुलीले बुधबार (आज) तीन अर्ब ३७ करोड ८१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

विनियोजित कूल बजेटमध्ये प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड, वातावरण तथा फोहरमैला व्यवस्थापनतर्फ ल्याण्डफिल्ड साइटको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार रुपैयाँ रहेको छ।

बजेटको स्रोततर्फ आन्तरिक आम्दानीबाट ८९ करोड ८२ लाख ९६ हजार, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ७६ करोड ८२ लाख ५२ हजार, वित्तीय समानीकरणमार्फत ३८ करोड सात लाख ६८ हजार र सशर्त अनुदानमार्फत एक अर्ब दुई करोड नौ लाख रुपैयाँ व्यवस्थापन गरिने जनाइएको छ।

त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानबाट आउने दुई करोड १० लाख, समपूरक अनुदानतर्फ तीन करोड, संघबाट विशेष अनुदानमार्फत १३ करोड, प्रदेश सरकार , वैदेशिक र अन्य संघसंस्था अनुदानतर्फ तीन करोड २६ लाख ७८ हजार र जनसहभागिताबाट प्राप्त हुने नौ करोड ६२ लाख पाँच हजार रकम देखाइएको छ।