ला लिगाको शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड

Newslaya Home

ला लिगाको शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड

सोमबार ०८, असार २०७७

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिडले रियाल सोसिडाडलाई २–१ ले पराजित गराउँदै शीर्ष स्थानमा उक्लिएको छ । कप्तान सर्जियो रामोस र करिम बेन्जेमाको गोलमा रियाल मड्रिडले जित हात पारेको हो ।

जिनेदिन जिदानको रियाल र साविक विजेता बार्सिलोनाको समान ६५ अंक छ । तर ‘हेड टु हेड’का आधरमा रियाल शीर्ष स्थानमा बस्‍न सफल भएको हो । बार्सिलोना शुक्रबार राति सेभियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

सर्जियो रामोसले ५०औं मिनेटमा गरेको गोलबाट रियालले अग्रता लिएको थियो । रियाल सोसिडाडका रक्षक डिएगो लोरेन्टेले भिनियस जुनियरलाई फाउल गरेपछि रियालले पेनाल्टी अवसर पाएको थियो । जसलाई कप्तान रामोसले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए ।

७०औं मिनेटमा फेडरिको भालभार्डेको पासमा बेन्जेमाले गोल गर्दै रियालको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन सात मिनेट बाँकी रहँदा माइकल मोरिनोले गोल गरे पनि रियाल सोसिडाडलाई खेलमा पुनरागमन गर्न ढिला भइसकेको थियो ।

त्यसअघि वैकल्पिक खेलाडी अद्‍नान जानुजाजले ६८औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर) ले अफसाइड घोषित गरिदिएको थियो । रियाल सोसिडाड ४७ अंकका साथ छैटौं स्थानमा छ । जुन चौथो स्थानको सेभियाभन्दा पाँच अंकले मात्र पछाडि हो ।