जहाँ अभर, त्यहाँ इटहरी उपमहानगर

Newslaya Home

जहाँ अभर, त्यहाँ इटहरी उपमहानगर

–रोजिना खतिवडा
शनिबार ०६, असार २०७७

बजारमा चुरी बेचेर बिहान बेलुकीको छाक टार्दै आएकी इटहरी उपमहानगरपालिका वडा नं.१२ की सफुरा खातुन लकडाउन भएपछि निकै समस्यामा पर्नुभयो । एक जना बिरामी छोरो, बुहारी, दुई जना साना नाति र रोगी बुढोलाई बिहान बेलुका के खुवाउने भन्ने चिन्ताले सताउन थाल्यो । अब के गर्ने होला भन्ने अत्यास परिरहेको बेला इटहरी उपमहानगरले राहत वितरण गरयो अनि उहाँ ढुक्क हुनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘लकडाउनको बेला काम नहुँदा भोकै बस्ने अवस्था आउथ्यो तर इटहरी उपमहानगरले राहत वितरण गरेर सहयोग पुग्यो । अहिले भने लकडाउन खुकुलो भएकाले चोकमा चुरी बेच्न जान थालेकी छु ।’ आपद विपद पर्दा स्थानीय सरकार घरैमा आइपुग्यो उहाँ थप्नुहुन्छ, ‘इटहरी उपमहानगरलाई राहत वितरण गरेकोमा धन्यवाद दिन्छु ।’

उहाँ भन्नुहुन्छ, ‘मोटरसाइकल ग्यारेजमा काम गर्दै आएको छोरालाई डिप्रेशन भएपछि काममा जान छाड्यो । त्यसपछि म एक्लैले सबैलाई पाल्दै आएको छु । लकडाउनपछि निकै गाह्रो भएको छ । उपमहानगरले दिएको राहत पनि सकियो फेरी राहत पाएपनि अलि सहज हुन्थ्यो ।’

विश्वब्यापी कोरोना महामारीका कारण चैत्र ११ गतेदेखि कामदाम सबै छोडेर घरमै वस्ने अवस्था आयो । लकडाउनका कारण श्रमजीवी जनतालाई छाक टार्नै समस्या भइरहेका बेला इटहरी उपमहानगरले राहत वितरण गरेर सफुरा जस्ता हजारौ जनतालाई भोकभोकै हुन बाट बचाएको छ । इटहरीका मेयर द्वारिकलाल चौधरीको अग्रसरतामा इटहरी उपमहानगरले राहत संकलन र वितरण गरिएको हो । मेयर चोैधरी दिनरात राहत संकलन र वितरणको ब्वस्थापनमा सकृय हुनुभयो । इटहरीका उद्योगी, ब्यवसायी, विभिन्न संघस्था मनकारी ब्यक्तिहरुले खुलेर सहयोग गरे । इटहरीका व्यवसायि मिलन बस्नेतले पनि आफूले सक्दो सहयोग गरेको बताउनुभयो । उहाँले विपद कोषमा नगद ५० हजार रुपैयाँ सहयोग गर्नुभयो ।

नगरपालिकाको पहलकदमीले विपन्न वर्गलाई धेरै सहयोग मिल्यो । नगरपालिकाले दुई चरणमा चालिसहजार वढि बिपन्न परिवारलाई राहत वितरण गर्यो । संघीय सरकारले राहत वितरण सुरु नगरेकै अवस्थामा इटहरी उपमहानगरपालिले राहत वितरण गरेको हो । उपमहानगर प्रमुख द्धारिकलाल चौधरीले छ महिना लकडाउन भएपनि जनतालाई भोकभोकै हुन दिन्न भन्ने प्रतिवद्धता जनाएपछि जनता ढुक्क भए । वडा वडामा जनप्रतिनिधिहरु दिनरात खटेर राहत वितरण गर्न जनताका घर घर पुगे ।

आफ्नो घरमा पनि राहत आउँदा इटहरी १२ का श्याम थापा निकै उत्साहित हुनुभयो । उद्योगमा मजदुरी गरेर परिवार पाल्दै आउनु भएका थापालाई राहतले निक्कै सहयोग पुग्यो । उहाँले खुशी हुदै भन्नुभयो, ‘लकडाउन भएर उद्योग बन्द हुँदा धेरै मजुरलाई समस्या परेको छ । यस्तो समयमा उपमहानगरले राहत वितरण गरेर निकै उदाहरणीय काम गरेको छ । अब पनि यस्तै राम्रा कामको अपेक्षा गरेका छौं ।’

No description available.

क्वारेन्टाइनमा दौडधुप
इटहरीमा क्वारेन्टाइन व्यवस्थापन पनि चुनौतिपूर्ण रह्यो । सबै स्थानीयत तहहरुले क्वारेन्टाइन बनाउने सरकारको नीतिअनुसार इटहरीले पनि बनाउने तयारी थाल्यो । तर इटहरीसँग भनेजस्तो पूर्वाधार थिएन । न त कुनै अस्पताल नै ।

जनता बहुमुखी क्याम्पसमा एक सय बेडको क्वारेन्टाइन बनाइयो । क्वारेन्टाइन बनाउनदेखि संक्रमितहरुलाई उपचार गर्नेसम्मको विविध काममा इटहरीकी उपमेयर लक्ष्मी गौतमको लोभलाग्दो सक्रियता देखिन्थ्यो । सय वेडको क्वारेण्टाइनको ब्यवस्था गरियो । क्वारेण्टाइनमा अहिले सम्म नेपाल, भारत, पाकिस्तानका समेत गरि ३१० जनाले सेवा लिइसकेका छन ।

इटहरीको क्वारेन्टाइनमा राखिएका सबैमा कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । अहिले सम्म ३७१ जनाको पीसीआर परीक्षण गरिसकिएको छ । त्यसमा १ जना वाहेक सवैको नेगेटिभ आएको छ । ५३९ जनाको आरडिटि परीक्षण गरिएको छ ।

इटहरी उपमहानगरले वैशाख २ गतेबाट शीघ्र परीक्षण (आरडिटी) सुरु गरयो । अहिले सम्म परीक्षण गरिएका सवैमा कोरोना नदेखिएको उपमहानगरका स्वास्थ्य विभाग प्रमुख रामचरण चौधरीले वताउनुभयो ।

अहिले क्वारेण्टाइनमा ८२ जनाले सेवा लिइरहनु भएको इटहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नवराज पराजुलिले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेण्टाइनमा बस्ने मध्ये मलेशियाबाट २ जना, ओमनबाट १ जना र कुवेतबाट ३ जना र अन्य भारतबाट आउनु भएको छ । क्वारेन्टाइनमा दुई जना एएनएम, एक जना सीएमए र एक जना एचए जनशक्ति खटिएको इटहरी अस्पतालको इमरजेन्सी विभाग प्रमुख रामकुमार धमलाले जानकारी दिनुभयो । इटहरीमा पिसिआर परीक्षणको दायरा पनि बढाइएको उहाँले वताउनुभयो । हालसम्म इटहरी क्षेत्रका दुई सयभन्दा बढी व्यक्तिको पिसिआर परीक्षण गरिएको धमलाले जानकारी दिनुभयो ।

No description available.

इटहरीको पहिलो कोरोना संक्रमण
कोरोनाका कहर कम हुँदै थियो । जेठ ६ गते इटहरी वडा नं. २ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखा पर्यो । त्यसपछि इटहरीका दुई वटा वडा सिल गरियो । इटहरी उपमहानगरले पाँच दिनको लागि वडा नम्बर २ र ३ सिल गरयो । इटहरीका अन्य स्थानमा पनि औषधी पसल बाहेकका सबै पसल बन्द गरिए । मानिसहरुलाई हिडडुल गर्न समेत कडाई गरियो । त्यसबेला इटहरीका निकै त्रास फैलिएको थियो । अहिले ती युवक उपचार पछि फर्किसकेका छन । ती युवकलाई कसरी कोरोना संक्रमण भयो भन्ने चाँही अहिले सम्म पत्ता लागेको छैन ।

इटहरीमा अहिलेसम्म दुई जनालाई मात्र संक्रमण देखिएपनि इटहरी कोरोनाको उच्च जोखिममा रहेको इटहरी अस्पतालको इमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलाको भनाई छ । इटहरीमा कोरोनालाई सामान्यरुपमा हेरेर अहिले लकडाउन खुकुलो पारेर बजार पसलहरु खोल्ने काम भइरहेको छ । जनजीवन सामान्य त भएको छ तर यसो गर्दा कोरोनाको जोखिम पनि उत्तिकै हुने उहाँले वताउनुभयो ।

पछिल्लो समय इटहरीमा मानिसहरुको जमघट निकै बढेको छ । इटहरी क्षेत्रका बैंकहरु, तरकारी पसललगायतको स्थानमा अहिले सामाजिक दुरी कायम गरिएको पाइदैन । जसले गर्दा स्वास्थ्यको दृष्टिकोणमा इटहरी जोखिमपूर्ण रहेको धमलाले बताउनुभयो । उहाँले भन्नुभयो ‘इटहरीका मानिसले कोरोना सामान्य हो भन्ने बुझिरहेका छन् । यसले गर्दा भोलिको दिनमा इटहरीमा एकैपटक धेरै कोरोना संक्रमितहरु पनि देखापर्न सक्छन् ।’

No description available.

उपमहानगरद्धारा स्वास्थ्यकर्मीलाई सतप्रतिशत सम्म भत्ता
इटहरी उपमहानगरपालिकाले कोरोनाको जोखिम मोलेर काम गर्ने चिकित्सकहरुलाई लागि ५० देखि १०० प्रतिशतसम्म थपेर तलब दिने निर्णय गरयो । कोरोना महामारीका वेला अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीहरु यो निर्णय वाट उत्साहित भए । कोरोना महामारी रोगथाम उपचार र नियन्त्रणमा इटहरीका अस्पतालहरुमा ४६ जना, चार वटा हेल्थ पोस्टमा २/२ जना, सहरी स्वास्थ्य केन्द्रमा २ जना, चार वटा स्वास्थ्य इकाईमा १/१ जना स्वास्थ्यकर्मीहरु अहोरात्र खटिनुभएको इटहरी अस्पतालको इमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलाले जानकारी दिनु भएको छ ।

लक डाउनकै विच विकास निर्माण जारी
भौतिक संरचना निर्माणलाई प्राथमिता दिएको इटहरी उपमहानगरमा लकडाउनले विकास निर्माण कार्य पनि प्रभावित भयो । तर पनि सुरक्षाका सवै उपाय अवलम्वन गरेर निर्माण कार्य सुचारु गरिएको इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरे वताउनुहुन्छ ।

गाँउका जनतालाई नगरवासी भएको अनुभूती दिलाउन गाँउ गाँउका मुलवाटोहरु कालोपत्रे गर्ने कार्य भइरहेको छ । ११ वटा वहुवर्षे योजना अन्र्तगत कालोपत्रे गर्ने कार्य भइरहेको हो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी आफनो कार्यकालभरमा इटहरीका सवै मुलवाटोहरु पिच गरिसक्ने वताउनुहुन्छ । यदि त्यसो गर्न नसके राजनीतिवाटै सन्यास लिने समेत उहाँको भनाई छ ।

प्रमुख चौधरी भन्नुहुन्छ “गाँउ गाँउका मुलवाटोहरु पनि कालोपत्रे गरिनसके किन राजनीति गर्नु ?”वहुबर्षे योजना वाहेक अन्य १४ वटा योजनाको ठेक्का मार्फत निर्माण कार्य भइरहेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिनुभयो । उपभोक्ता समिति मार्फत पनि विभिन्न योजनाहरुको निर्माण कार्य जारी छ । योजना शाखाका अधिकृत भगिरथ संजेलका अनुसार चालु आर्थिक बर्षमा ४सय ८० वटा वडास्तरीय योजना स्वीकृत भएका थिए । ती मध्ये १सय ३४ वटा सम्पन्न भइसकेका छन । २सय ५९ योजना धमाधम संचालनमा छन ।२सय १० वटा नगरस्तरीय योजना स्वीकृत भएकोमा २सय६ वटाको सम्झौता भई ६१ वटा सम्पन्न भएका छन । १सय ४५ वटा योजनाको निर्माण कार्य भइरहेको छ ।

बजार व्यवस्थापन चुनौति
असार १ गते देखि इटहरी वजार खुलेको छ । संघीय सरकारले तोकेका ब्यापार ब्यवसाय वाहेक सवै खुलेका छन । जनजीवनलाई सहज बनाउन संघीय मन्त्री परिषदको निर्णय वमोजिम नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले जनजीवन सहज वनाउन १० वजे सम्म मात्र खुल्दै आएको वजार दिनभर खोल्ने निर्णय गरेको हो । तर उपमहानगरले सामाजिक दुरीलाई कडाइका साथ पालना गर्न र सटर वाहिर ब्यापार ब्यवसाय नगर्न आग्रह गरेको छ । सब्जि भने दुरी कायम गरेर सटर वाहिर वेच्न पाइने छ ।

स्वास्थ्य सुरक्षाका सवै उपाय अपनाएर पसलहरु खोलिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले सुरक्षाका सम्पुर्ण अपायहरु अपनाएर मात्र बजार खोल्ने गरेका संघका अध्यक्ष भिम पौडेलले बताउनुभयो । उहाँका अनुसार माक्स,ग्लोभस लगाएर मात्र सामान वेच्ने,सेनिटाइजर प्रयोग गर्ने गरेको र समाजिक दुरी कायम गरेर मात्र सामान बिक्री वितरण गर्ने गरेको पौडेलले बताउनुभयो । लामो समय पछि बजार खुल्दा व्यवसायीहरु खुसी छन् । तर, व्यापार भने राम्रो नभएको अध्यक्ष पौडेलको भनाई छ ।

व्यवसाय राम्रोसँग चल्न नथाल्दै बैंकले ब्याज, किस्ता माग्दा, विद्युत प्राधिकरणले बिजुलिको बिल माग्दा र नगरपालिकाले घरबाहल कर माग्दा व्यवसायिहरु निकै समस्यामा परेको पौडेल वताउनुहुन्छ । उहाँले भन्नुभयो ‘बजार मात्र खुल्यो तर व्यापार भएकै छैन । यस्तो अवसथामा स्थानिय सरकारले व्यवसायिलाई सहयोग गर्नुपर्छ ।’

विपन्न सुत्केरी महिलाका घर घरमा उपमहानगर
इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम लिएर उपप्रमुख लक्ष्मी गौतम लकडाउनकै विच पोषणयुक्त खानेकुरा सहित विपन्न सुत्केरीका घर घर पुग्नुभयो । इटहरी अस्पतालमा सुत्केरी गराएका विपन्न सुत्केरी महिलाकालाई लत्ता कपडा र पोषण युक्त खानेकुरा प्रदान गरिएको हो ।लकडाउनका कारण श्रीमानले कमाएर ल्याउन नसकेको वेला सुत्केरी महिला वढि प्रभावित हुने भएकाले उहाँहरुलाई उपमहानगरले पोषणयुक्त खानेकुरा प्रदान गरेको उपमेयर गौतमले वताउनुभयो । लक डाउनका वेला दुईदर्जन वढि सुत्केरी महिला सुत्केरी भेट कार्यक्रमवाट लाभान्वित भएका छन ।

मारमा स्कुल कलेज
लकडाउनले गर्दा स्कुल कलेजहरुमा धेरै असर परेको छ । विद्यार्थीहरु लामो समयदेखि घरमै वस्न वाध्य छन । स्कुल बन्द भएपछि केहि नीजि र सरकारी स्कुलले अनलाईन मार्फत कक्षा सञ्चालन गर्दै आएका छन् । जसले गर्दा विद्यार्थीहरु घरमै बसेर इन्टरनेट मार्फत कक्षा लिइरहेका छन् । इन्टरनेटको पहुँच भएका विद्यार्थीहरुले त कक्षा लिन पाइरहेका छन् तर इन्टरनेटको पहुँच बाहिर भएका विद्यार्थीहरुले भने कक्षा लिन पाएका छैनन् ।

अनलाइन कक्षाको सन्दर्भमा सबै विद्यार्थीहरु इन्टर्नेटको पहुँचमा नहुने भएकाले शिक्षा महाशाखा प्रमुख कुमारी अम्विका शाहले यस विषयमा आफूहरुले अध्ययन गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विद्यालय र विद्यार्थीको समस्या फरक फरक खालको हुने भएकाले हामीले समस्यालाई बुझ्ने कोसिस गरिरहेका छौं ।’

मन्त्रालयले वैकल्पिक विद्यालयको शिक्षण सिकाइ निर्देशिका जारी गरिसकेको बताउँदै उहाँले भन्नुभयो, ‘त्यसको लागि हामीले सम्पूर्ण विद्यालय र विद्यार्थीको विवरण जुटाइरहेका छौं । कुनै विद्यालयसँग प्राविधिक पहुँच नै छैन, कुनै विद्यालयलाई खानबस्न पनि समस्या हुनसक्छ, कसैसँग मोबाइल हुनसक्छ, कसैसँग रेडियो हुन सक्छ, कसैसँग टेलिभिजनको पहुँच हुनसक्छ यो सबै कुरालाई मध्यनजर गर्नुपर्नेछ । त्यसैले हामिले शिक्षकको बैठक राखेर कुन विद्यालयमा कस्ता कस्ता विद्यार्थीहरु छन् भनेर शिक्षकहरुलाई विवरण संकलन गर्न लगाएका छौं । कस्तो खाल्को सुविधाको पहुँचमा विद्यार्थीहरु रहेका छन् भनेर असार ६ गते भित्रमा डाटा संकलन गर्न लगाएका छौं ।’

यस विषयमा पहिचान भइसकेपछि विद्यार्थी अनुसार वैकल्पिक शिक्षणको सुरुवात गर्ने उहाँले बताउनुभयो । यस्तै प्याब्सन र एनप्याब्सन मिलेर इटहरीका एरिना र विराट टिभिबाट कक्षा सञ्चालन गर्ने कुरा भइरहेको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयहरुले पाठ्यपुस्तकहरु वितरण सुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सामाजिक दूरी कायम गरेर रुटिन मिलाएर पालैपालो पुस्तक वितरण गर्नेकार्य भइरहेको छ । प्याबसनको प्रदेश १ सचिव समेत रहेका इटहरीस्थित पशुपति स्कुलका प्रध्यापक सुमित थापाले आफ्नो स्कुलले पनि लकडाउन सुरु भएको केही समय पछि नै विद्यार्थीलाई अनलाईनमार्फत पढाउँदै आएको बताउनुभयो । उहाँले आफ्नो स्कुलका धेरै जसो विद्यार्थीहरुले अनलाइन कक्षा लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले बैशाख पहिलो सातादेखि नै अनलाईन कक्षा सञ्चालन गरिहेका छौं । जसले गर्दा विद्यार्थीहरुलाई पठनपाठनमा निकै सहयोग पुगेको छ ।’

यो आलेख इटहरी उप महानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको फेलोसिप अन्तरगत तयार पारिएको सामाग्री हो ।