बार्सिलोनालाई ६७ लाख पाउन्ड बुझाउन नेइमारलाई अदालतको आदेश

Newslaya Home

बार्सिलोनालाई ६७ लाख पाउन्ड बुझाउन नेइमारलाई अदालतको आदेश

शनिबार ०६, असार २०७७

काठमाडौं । स्पेनको अदालतले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारलाई पूर्व क्लब बार्सिलोनालाई ६७ लाख पाउन्ड तिर्न आदेश दिएको छ।

ब्राजिलका फरवार्ड नेइमारले यसअघि बार्सिलोनाबाट ४ करोड ३६ लाख लोयल्टी बोनस पाउनुपर्ने दाबी गरेका थिए। नेइमार अगस्ट २०१७ मा बार्सिलोना छाडेर पीएसजी गएका थिए। तर, अदालतले ला लिगा क्लब बार्सिलोनको पक्षमा फैसला सुनाएको हो। पीएसजी गएको केही समयमै मुद्दा दायर गरेका २८ वर्षे नेइमारले उक्त फैसलाविरुद्ध अपिल गर्न सक्नेछन्।

अदातलले आफ्नो पक्षमा सुनाएको फैसलाको बार्सिलोनाले स्वागत गरेको छ। बार्सिलोनाले वैधताको हितमा दृढताका साथ उभिने जनाएको छ। सन् २०१३ मा बार्सिलोनसँग अनुबन्ध भएका नेइमार क्याम्प नोउमा २०१७ सम्म बसे। त्यसपछि उनी फ्रान्स गएका थिए।

नेइमार कीर्तिमानी रकमा २२ करोड २० लाख युरोमा पीएसजीसँग अनुबन्ध भएका थिए। तर, क्लब स्थान्तरण गर्दा आफूले पाउनुपर्ने रकम बार्सिलोनाले नदिएको बताउँदै नेइमारले फिफामा उजुरी दिएका थिए। बार्सिलोनाले पनि नेइमारले सन् २०१६ मा पाँच वर्षको नयाँ सम्झौता गर्दा ८० लाख पाउन्ड लिएर फिर्ता नगरेको आरोपमा कानुनी प्रकृया थालेको थियो। तर, फिफाले यसमा कुनै कारवाही प्रकृया अगाडि बढाएको छैन।