जीवन र इन्द्रधनुषका रङ्गहरु

Newslaya Home

जीवन र इन्द्रधनुषका रङ्गहरु

- लक्ष्मी प्रसाद कोइराला
मङ्गलबार ०२, असार २०७७

जतिबेला म जन्मिएँ किसान परिवारमा
त्यतिबेलादेखि नै इन्द्रधनुषलाई
नियाल्दै आइरहे छु बारम्बार
बारम्बार उस्तै उस्तै ।

जतिबेला म बालक थिएँ त्यतिबेला
मलाई कोक्रामा सुताउन खुब हल्लाइन्थ्यो
त्यतिखेर कहिलेकाही मचाहिँ
निदाएको स्वाँङ्ग पार्थेँ
अनि कोक्राको प्वालबाट
सुटुक्क चियाएर हेरिहाल्थेँ
बाहिरी आकाशको इन्द्रधनुष
त्यतिबेला पनि त्यो उस्तै हुन्थ्यो ।

जस्तो पहिले बारम्बार उस्तै उस्तै
पछि म युवक भएँ त्यतिबेला पनि
पर क्षितिजमा त्यो उस्तै थियो
जस्तो त्यो इन्द्रधनुष म बालकहुँदा थियो
जुन गुम्बज,सप्तरङ्गी उस्तै उस्तै देखिन्थ्यो
जस्तो बारम्बार उस्तै उस्तै ।

म पैँतालिस पचासको हुँदो थिएँ
त्यतिबेला पनि यो उस्तै छ
जस्तो बालकहुँदा थियो,
युवक हुँदा थियो ।

भोलि म बूढोहुँदा होला
रोगहरुले सताउन थाल्लान्
त्यतिबेला पनि यो उस्तै हुने छ ।

यो निश्चित हो म भोलि मर्ने छु
त्यतिबेला मेरो परिवारमा रुवाबासी चल्ने छ।

मेरा मान्छेहरु र साथीभाइहरु रहेछन् भने
मेरो परिवारलाई सम्झाउन आउलान्
मान्छेहरु अजम्वरी छैन भनेर ।

सदगदका नियम चल्लान्
पुन्यतिथि गनेर बसेका
इष्टमित्रहरु रहेछन् भने
हार्दिक समवेदना लेखेर
भोलिपल्टदेखि आउलान्
सबैले मौन धारण गर्लान्
ठ्याक्कै घडी हेरेर एक मिनेट ।

तर त्यो इन्द्रधनुष न बालक हुन्छ
न प्रौढ हुन्छ न म जस्तो रोगी हुन्छ ।
न यो कहिल्यै मर्छ यो सधैं उस्तै रहन्छ ।