बजेटमा ब्याजको विषयमा वेवास्ता

Newslaya Home

बजेटमा ब्याजको विषयमा वेवास्ता

- मनिषकुमार मारु
मङ्गलबार २०, जेठ २०७७

नयाँ बजेटले सिमेन्ट उद्योगलाई खासै फरक पारेको छैन । बरु खाद्यान्नलाई अलि धेरै असर गरेको छ ।

हामीले अझै राम्रो बजेट आउँछ भन्ने सोचेका थियौं । व्यवसायीलाई राहत दिने खाल्को बजेट आएन ।

खासगरी कोरोना अनि लकडाउनका कारण थलिएका इन्डस्ट्रिहरुलाई ब्याजमा छुट दिने गरी बजेट आउँछ कि भन्ने आशा थियो, आएन । सरकारले जसरी भएपनि ब्याज तिर भनेको छ, अब गाह्रो छ । यो बिचमा उद्योग, व्यापार त ठप्प छ । २० देखि ३० प्रतिशत क्षमतामा मात्र उद्योगहरु चलेका छन् । यस्तो अवस्थामा कामदारलाई दिन र अरु अपरेटिङ लागत त तिर्न सक्ने अवस्थामा छैनौं, ब्याज कसरी तिर्ने रु यो हिसाबले अब धेरै उद्योगीहरु ब्लाक लिस्टमा जान्छन् । यसलाई एडजस्ट गर्न धेरै गाह्रो छ र समय लाग्छ ।

अहिले उद्योगहरु चौतर्फी समस्यामा छन् । यातायात र उद्योगधन्दा ठप्प हुँदा कुनै पनि इन्डस्ट्रिले कच्चा पदार्थ दिनै सकेका छैनन् । हाम्रै सिमेन्ट उद्योगले पनि कच्चा पदार्थ पाइरहेकोछैन । कसरी उत्पादन गर्ने ? इन्डियाबाट पनि आउन पाउँदैन, नेपालमा पनि पर्याप्त उत्पादन छैन ।

जनकपुरबाट ल्याउँदा ५/७ सय भाडा लाग्नेमा अहिले १५ सय पुगेको छ । किलंकरको मूल्य ६/७ हजार रुपैयाँ थियो ९ हजार पुगेको छ । भारतबाट क्लिंकर त आउनै सकेको छैन । यस्तो महँगोमा उत्पादन गरेर कतिमा बेच्ने ?

त्यसैले सरकारले बजेटका केही प्रावधानहरु सच्याउनुपर्ने अवस्था छ । एउटा उद्योग टिक्नु भनेको त्यसका लगानीकर्ताको लागि मात्र होइन, त्यहाँ आश्रित हजारौं मजदुर अनि देशको राजस्वको लागिसमेत फाइदाजनक हुन्छ । तर अहिलेको बजेटले ब्याजमा लिएको नीतिका कारण धेरै उद्योगी, व्यापारीहरु पलायन हुने अवस्थामा छन् । उत्पादन नै छैन भने कसरी ब्याज तिर्ने ? त्योभन्दा पहिले त कर्मचारी, कामदारको रोजीरोटीको व्यवस्था हुनुपर्छ होला ।

त्यसैले ब्याजको सीमालाई केही बढाउनुपर्छ । साथै उत्पादनमुलक उद्योगलाई बढीभन्दा बढी प्रोत्साहन दिनुपर्छ । उत्पादनविना आत्मनिर्भर हुन सकिँदैन । आत्मनिर्भर नहुने हो भने समग्र देश आर्थिक, सामाजिक हिसाबले पछि पर्छ । कोरोनाका कारण स्वदेश फर्केका नेपालीहरुलाई फेरी रोजगारी दिने सवाल पनि छ । त्यसको लागि पनि स्वदेशी उद्योगहरुलाई प्रोत्साहन र संरक्षण गर्दै जानुपर्छ ।

(मारु बन्धन सिमेन्ट उत्पादन गर्ने नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका अध्यक्ष हुन् ।)

1 प्रतिकृयाहरू प्राप्त
  • Balbir Singhलेख्नुहुन्छ
  • |
  • बुधबार २१, जेठ २०७७
Ekdum sahe.....🙏🙏🙏 Sab doctor financial minster haru testai 6an kaam na lagnay