पाल्पाको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

Newslaya Home

पाल्पाको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

मङ्गलबार २०, जेठ २०७७

बुटवल । भारतबाट आएर पाल्पाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

जेठ १८ गते आइतबार भारतबाट आएर पाल्पाको पूर्वखोला गाउँपालिका २ को शम्भु माविमा रहेको क्वारेन्टाइनमा बसेका पूर्वखोला–१ सिलुवाका ४६ वर्षका पुरुषको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिए ।

भारतबाट आएर रुपन्देहीको सीमानाका बेलहियाबाट पूर्वखोला गाउँपालिकाले उनीसहित ४२ जनालाई १८ गते गाउँपालिकाको क्वारेन्टाइनमा लगेको थियो ।

भारतबाट आउँदा नै स्वास्थ्य समस्या देखिएका उनको स्वास्थ्य जटिल बन्ने संकेत देखिएपछि उपचारका लागि तानसेनको मिसन अस्पताल लगिएको थियो ।

स्वास्थ्य संयोजक ढकालका अनुसार उनलाई ज्वरो, स्वास्वप्रश्वास र पेट फुल्ने समस्या देखिएको थियो ।

उनको सोमबार थ्रोट स्वाब लिएर भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । बुधबार मात्रै रिपोर्ट आउने जानकारी आएको स्वास्थ्य संयोजक ढकालले जानकारी दिए । उनको शव मिसन अस्पतालमा रहेको छ ।