जोगबनी नाका हुँदै ९६० जना भारतीयलाई बिहार पठाइयो

Newslaya Home

जोगबनी नाका हुँदै ९६० जना भारतीयलाई बिहार पठाइयो

मङ्गलबार २०, जेठ २०७७

विराटनगर । पछिल्लो छ दिनमा भारतको जोगबनी नाका हुँदै ९६० जना भारतीय बिहार गएका छन् ।

भारतबाट नेपाल आउने क्रम नेपालका सानाठूला विभिन्न नाकाबाट बढिरहेको सन्दर्भमा प्रदेश १ को राजधानी विराटनगरको यो नाकाबाट भने दैनिक भारतीय विहारतर्फ गइहेका छन् । नेपाल र भारतीय प्रशासन तथा सुरक्षाकर्मीको समन्वयमा मानिसहरूलाई भारत पठाउने गरिएको छ ।

उताबाट पनि दुवै देशका सुरक्षाकर्मीको निगरानीमा नेपालीलाई स्वदेश फर्काउने क्रम चलिरहेको छ । गत बुधबारदेखि भारतको जोगबीन नाकाबाट नेपालीलाई भित्र्याउने र भारतीयलाई पठाउने क्रम सुरु भएको हो ।

भारतका विभिन्न राज्य अनि सहरबाट जोगबनी नाका हुँदै ९९२ जना नेपाली स्वदेश फर्केका छन् । उनीहरूमध्ये धेरैलाई सम्बन्धित पालिकाहरूले आफैं यातायातका साधनमार्फत लिएर गएका छन् । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले मानिसहरूलाई सहजतापूवर्क र दुई देशका सुरक्षा अधिकारीको समन्वयमा ल्याउने अनि पठाउने गरिएको जनाएका छन् ।

प्रदेश १ सरकारले दुवै देशका नागरिक आउने र जाने नाकाका रूपमा विराटनगर–जोगबनी, रंगेली, काकडभिट्टा, पशुपतिनगर र भान्टाबारीलाई मानेको छ । ती नाकाबाट सुरक्षाकर्मीको निगरानीमा मानिसलाई एक देशबाट अर्कोमा पठाउने गरिएको छ ।