दुई दशकमा पनि रहस्यमै दरबार हत्याकाण्ड

Newslaya Home

दुई दशकमा पनि रहस्यमै दरबार हत्याकाण्ड

सोमबार १९, जेठ २०७७

काठमाडौ । तत्कालिन राजा वीरेन्द्र शाहको वंश नाश हुनेगरी नारायणहिटी दरबार हत्याकाण्ड भएको १९ वर्ष पुगेको छ । वि.सं. ०५८ जेठ १९ गते शुक्रबारका दिन हत्याकाण्ड भएको थियो । हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्रसमेत समाप्त भएको थियो ।

हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदासहितको ज्यान गएको थियो । राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको सोही दिन मृत्यु भएपछि कोमामा रहेका दीपेन्द्रलाई नयाँ राजा घोषणा गरिएको थियो । तर उनको पनि उपचारकै क्रममा ज्यान गएको थियो ।

हत्याकाण्डको बिषयमा अध्ययन गर्न तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको समितिले तात्कालिन युवराज दीपेन्द्रले हत्याकाण्ड गराएको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँगको प्रेम प्रसंगका कारण दीपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो ।

१९ वर्षसम्म पनि हत्याकाण्डको यथार्थ बाहिर आउन सकेको छैन । राजा वीरेन्द्रपछि उनका भाइ ज्ञानेन्द्र शाह राजा भएका थिए, जो नेपालका अन्तिम राजा बने ।