महोत्तरीमा मेयरले राहतमा विभेद गरेको भन्दै स्थानीयले घेरे नगरपालिका

Newslaya Home

महोत्तरीमा मेयरले राहतमा विभेद गरेको भन्दै स्थानीयले घेरे नगरपालिका

शनिबार १७, जेठ २०७७

महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा मेयरले राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेका छन् ।

नगरपालिकाका मेयर सञ्जीव साहले राहत वितरण गर्दा आफ्ना मान्छेलाई मात्रै छानेर दिएको र खास पाउनुपर्नेलाई नदिएको भन्दै हजारौँको संख्यामा उपस्थित सर्वसाधारणले बन्दाबन्दीको समयमा नगरपालिकाको कार्यालय सितापुर बजारमा प्रदर्शन गरेका हुन् । मेयर साहले मनोमानी ढंगले आफू अनुकूललाई मात्र राहत दिएको उनीहरूको आरोप छ ।

प्रदर्शनकारीहरुले मेयरको राजीनामा माग्दै भोकालाई खान र गरीब जनतालाई राहतको माग गर्दै नाराबाजी गरे ।

नेकपाका भंगाहा नगर इन्चार्ज मुकुन्द दाहालले नेकपा र नेपाली कांग्रेसका स्थानीय नेताले संयुक्त रुपमा मेयरसमक्ष समान तवरले राहत वितरणको माग राखे पनि राजपाबाट निर्वाचित मेयर साहले मागमा कुनै वास्ता नगरेको बताए ।

नेपाली कांग्रेस र नेकपाले शुक्रबार पनि जमुनियास्थित थारु टोल बन्द्रामा विरोध प्रदर्शन गरेका थिए । सो समयमा मेयर साह पक्षले विरोध कार्यक्रममा हमला गरेको दाहालले बताए ।

मेयर साहले आफूले नगरपालिकाका कर्मचारीको तलब भत्तालाई रोकेर रकमान्तर गरी सबै घरधुरीलाई राहत वितरण गरेको बताए ।