नयाँ कोरोना भाइरस र प्रतिरोधी क्षमता

Newslaya Home

नयाँ कोरोना भाइरस र प्रतिरोधी क्षमता

- राजेन्द्र दाहाल
शनिबार १७, जेठ २०७७

नयाँ कोरोना भाइरसले विश्वलाई स्तब्ध बनाएको छ, मानौं समय नै रोकिएको हो । विश्वका हरेक देशले मानिसहरुलाई घरभित्र नै बस्न र एकापसमा निश्चित दुरी कायमगर्दै सुरक्षित रहन आह्वान गरेको छ । धेरै देशले मानिसहरुलाई बलजफ्ती घरभित्र रहन बाध्य पारेको छ । मानिसहरुको दैनन्दिनी यसरी बिग्रिएको छ, लाग्छ भविष्यमा विश्वभरी नै मानवजातिले ठूलो संकट ब्यहोर्नेछ ।

विश्व स्वास्थ्य संगठनले यस भाइरसद्वारा उत्पन्न रोगलाई कोभिड १९ नाम दिएको छ । यो कोभिड १९ रोगको लक्षण सामान्य रुघा, खोकी र ज्वरो हो । तर यहि सामान्य मानिएका लक्षणहरुले विश्वमा आतंक फैलाएको छ । सबैभन्दा ठूलो सत्य के हो भने नयाँ कोरोना भाइरसलाई सबैभन्दा मनपर्ने स्थान मानिसको फोक्सो हो । हुन त यस्को स्वरुप, वरिपरि प्रोटीनको मुकुट भएको बोसोको बिन्दु भनिएको छ, तर फोक्सोको तन्तुहरुबाट यो एकबाट करोडौं बन्ने गर्छ । हाँछ्यु गर्दा, खोक्दा मुखबाट बाहिर निस्कन्छ अनि हावा वा अन्य माध्यमबाट नजिकको ब्यक्तिको नाक, मुख हुँदै फोक्सोमा पुग्छ र फेरि करोडौं बन्ने गर्छ ।

एकबाट अर्कोमा सर्दै यो विश्वको कुनाकाप्चा पुगेको छ । त्यसैले यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको हावा वा अन्य सतहबाट यसलाई हाम्रो फोक्सोमा पस्न नदिनु हो । त्यसका लागि नै देशमा लकडाउन, मास्क, सोसियल डिस्टेन्सिङ र सेल्फ क्वारेन्टिन जस्ता शब्दले प्रशय पाएको हो । यसले सबैभन्दा क्षति पु¥याउने स्थान भनेकै मानिसको फोक्सो हो, जहाँ जालो बनाएर बसेपछि स्वास प्रस्वासमा समस्या देखापर्छ र स्वास रोकिएर मानिसको मृत्यु हुन्छ । त्यसैले यसले बिगतको पाँच महिनाभित्र साढे तीन लाख मानिसको ज्यान लिइसकेको छ ।

साढे तीन लाखको ज्यान जाँदा बाइस लाखभन्दा बढीले यो रोगलाई जितेका पनि छन् । मानिसको यस भाइरससँग प्रतिरोध गर्ने क्षमता प्रबल भए, शरिरमा उत्पन्न भएको एन्टीबडीले त्यसलाई नास गर्दै जानेरहेछ । तर यदि एन्टीबडीको क्षमताभन्दा भाइरसको क्षमता धेरै भएमा भाइरसले मानिसलाई जित्छ, त्यैकारण रोग शुरु भएको छोटो समयमै मानिसको मृत्यु हुनेगर्छ ।

वास्तवमा कुनै ब्यक्ति त्यसतो नहोला जसलाई बर्षमा एकपटक रुघा नलागेको होस् । नेपालजस्तो प्रदुषित क्षेत्रमा बालकदेखि वृद्ध सबैलाई खोकी पनि बारम्बार लागिरहन्छ । ज्वरो आउनु भनेको रोग प्रतिरोधका लागि शरिरमा उत्पन्न हुने तापक्रम हो, जसले शरिरभित्रमा जिवाणुहरु निर्मुल गर्छ । केहि दशकअघिसम्म नेपालीहरु रुघाका लागि कुनै औषधि गर्दैनथे । मात्र तातो पानी पिउने गर्थे । पहिलो दिन नाक बन्द भएर तरतरी पानी बग्थ्यो, दोश्रो दिन सिँगान पाक्थ्यो र तेश्रो दिनदेखि क्रमिकरुपले निको हुँदैजान्थ्यो ।

सात दिनभित्र रुघा निको हुने स्वतः प्रकृया थियो शरिरभित्र । अलि शरिर कमजोर हुनेले तातो दुधमा हर्दी घोलेर पिउने गर्थे । यो पंक्तिकारलाई पनि जीवनमा असंख्यौंपटक रुघा लागेको छ र स्वतः निको भएको छ । खोकीलाग्दा भने अलि बढी सकस हुन्थ्यो र पोलेको अदुवा चुस्दै खानुपथ्र्यो । पहिले पहिले नेपालीहरु ज्वरो आउँदा पनि सिटामोल खाइहाल्दैनथे, पानी भिजाएर निचोरेको रुमाल निधारमा राखेर वा पानीमा खुट्टा डुबाएर तापक्रम घटाउथे ।

भन्नुको तात्पर्य के हो भने शरिरमा कुनै पनि रोगको लक्षण छ भने सबैभन्दा उत्तम शरिरलाई नै त्यसविरुद्घ लड्न प्रेरित गर्नु हो र त्यस्तै गर्ने प्रचलन थियो । मानिसको पहिलो प्रयास त्यहि हुनुपर्छ । असल चिकित्सकको सल्लाह पनि त्यहि हुन्छ । भाइरसको शक्ति प्रबल भए एन्टिबायोटिकबाट त्यसलाई निर्मुल गर्नुपर्ने हुन्छ । एन्टिबायोटिक भनेको कृत्रिम एन्टिबडी हो ।

रुघा एउटा सरुवा रोग हो । यो भाइरसकै कारणबाट हुनेगर्छ । रुघालाग्दा पनि एकदेखि अर्कोमा सर्छ भनेर टाढै बस्ने, नजिक नजाने गरिन्थ्यो । धेरै पटक अरुलाई लागेको रुघाबाट सरेर रुघा लाग्नेगथ्र्यो । रुघाको भाइरस पनि कोरोना भाइरसकै पूर्ववर्ती कमजोर प्रकृतीका रुप हुन्, जसलाई शरिरमा उत्पन्न एन्टीबडीले परास्त गर्नसक्थ्यो । यद्दपी रुघाबाट नै दमको रोग शुरु हुनेगथ्र्यो । रुघाबाट नै निमोनिया हुनेगथ्र्यो र धेरै बालबालिका र वृद्धवृद्धाले ज्यान गुमाउँथे ।

नेपालको प्रसँगमा केहि दशकअघि रुकुम, कालिकोट र जुम्ला जिल्लामा रुघाकै कारणले धेरैले ज्यान गुमाएका थिए । सुन्दा अचम्म लाग्नेगथ्र्यो रुघाकै कारणले कसैको ज्यान जान्छ र ? तर मौसमी रुघाको भाइरस यति प्रबल हुन्थ्यो कि शारिरिक रुपले कमजोर, दिर्घरोगी, बालबालिका, वृद्धवृद्धाको शरीरमा उत्पन्न एन्टीबडीले भाइरसलाई परास्त गर्न सक्दैनथ्यो र ज्यान जाने गथ्र्यो । यसबाट के बुझिन्छ भने रुघा जति सामान्य हुन्छ त्यति नै जटिल पनि हुन्छ ।

यसभन्दा अघि सार्स र मेर्स नाम दिइएको दुई प्रकारका कोरोना भाइरसले विश्वका केहि क्षेत्रमा महामारी निम्त्याए पनि समयको अन्तरालमा आफैं कमजोर भएर लोप भएको थियो । त्यस प्रकृयालाई मौसम परिवर्तनसँगै भाइरस स्वतः निर्मुल भएको मानिएको थियो ।

त्यसैको बिकसित रुप मानिएको नयाँ कोरोना भाइरसको सबैभन्दा उदेक लाग्ने कुरा भनेको विश्वका सबैभन्दा सुसभ्य र सफा ठाउँलाई आक्रान्त बनाउनु हो, सबै तहको तापमानमा पनि प्रभुत्व बनाइराख्नु हो । विश्वमा लण्डन, पेरिस, बार्सिलोना, साओ पाउलो, बर्लिनभन्दा स्वच्छ ठाउँ अन्त कतै छैन, तर त्यै ठाउँहरुमा यो भाइरस बनमा डढेलो सल्किएझै फैलिदै गएको छ ।

अहिले विश्वब्यापी आह्वान छ, साबुन पानीले बारम्बार हात धोऔं, सेनिटाइजर बारम्बार प्रयोग गरौं, एकापसमा दुरी कायम गरौं, नाक ढाकेर हिडौं, हाँछ्यु गर्दा नाकलाई छोपौं आदि ईत्यादि । तर बिकसित देशमा त यी सबैकुरा पहिल्यैदेखि गरिन्थ्यो । रुघा लाग्दासमेत मानिसहरुलाई घरमा बस्न भनिन्थ्यो ।

प्रायः सबैको गोजीमा सेनिटाइजर हुन्थ्यो । सरसफाइलाई बिशेष ध्यान दिई होटलको अनुगमन गरिन्थ्यो; घरहरुमा मुसा, झिंगा र साँग्ला समेत नहुने वातारण बनाइन्थ्यो । हेण्डवास बिनाको चर्पी हुदैनथ्यो । रोग लागेको अवस्थामा पनि स्वास्थ्य सेवा चुस्त हुनेगथ्र्यो । अस्पतालमा कुनै कुराको अभाव हुदैनथ्यो । स्वास्थ्य उपचार कसरी गर्नुपर्छ तिनीहरुले नै अरु देशलाई सिकाएका हुन् । स्वच्छ खानपिन र रहनसहनका लागि विश्व नै परिवर्तन भएकाबेला विश्वका बिकसित देशहरुले नयाँ कोरोना भाइरसबाट पार पाउन नसक्नु भनेको बिज्ञानले बनाएको आधुनिक समाजलाई ठूलो चुनौती हो ।

ज्यान गुमाउने र रोगीका विश्वब्यापी आँकाडालाई नियाल्ने हो भने कोभिड १९ रोग धेरैजसो, वृद्धवृद्धालाई लागेको छ जसलाई पहिल्यैदेखि शरिरमा अन्य रोगहरु थिए जस्तै कि उच्च रक्तचाप, सुगर, क्यान्सर, हर्ट डिजिज्, दम् अथवा मृगौलामा समस्या । महिलाहरुभन्दा पुरुषहरुलाई यो रोगले धेरै भेटेको छ । शारिरिक रुपले कमजोर बालबालिकामा यो रोग भेटिएको छ ।

शरिरमा कुनै न कुनै प्रकारको दुर्बलता भएका जवानहरुमा नै यो रोग भेटिएको छ । सधै फास्टफुड र चिसो खानेकुरा मात्र खाएर आवश्यकताभन्दा बढी काम गरि थकित भएका कामदारहरु यसको शिकार भएका छन् । अस्पतालमा विश्राम नलिई लामो समय सेवा गर्ने चिकित्सक र नर्सहरु यसको शिकार भएका छन् । यसबाट के बुझिन्छ भने जब नयाँ कोरोना भाइरसले मानिसलाई आक्रमण गर्छ, शरिर जहिल्यै यसबिरुद्घ लड्न र यसलाई परास्त गर्न तयार हुनुपर्छ ।

यदि शरिर अन्य समस्या समाधान गर्न लागिपर्छ भने कोभिड १९ लाई फोक्सोमा अड्डा जमाउन सजिलो हुन्छ । जसको फोक्सो पहिल्यै कमजोर भएको छ उसको ज्यान खतरामा छ । यहिकारण बिकसित देशका बासिन्दालाई यसले बढी आक्रान्त बनाएको हो किनभने ती देशहरुमा युवाहरु अत्याधिक चुरोट पिउने गर्छन् । चुरोटका कारण फोक्सो कमजोर भएका धेरैजसो वृद्धवृद्धा र युवाहरुले यो रोगबाट ज्यान गुमाएका हुन् । यहिकारण महिलाभन्दा पुरुषहरुको बढी ज्यान गएको हो ।

भनिन्छ, एकपल्ट रोग लागेर आफै निको भएपछि त्यहि रोग हत्तपत्त लागिहाल्दैन किनकि त्यस रोगसँग लड्ने एन्टीबडी शरिरले बनाइसकेको हुन्छ र सुरुवाती अवस्थादेखि नै परास्त गर्दै लान्छ । त्यसैले नयाँ कोरोना भाइरससँग लड्ने क्षमता बढाउन शरिरलाई निरोगी राख्न त्यति नै जरुरी हुन्छ, फोक्सो स्वच्छ राख्न र रुघालाई आफै निको पार्ने कोशिस गरिएको हुनुपर्छ । त्यसैले सक्दो आराम गरेर सक्दो कसरत गरेर शरिरलाई चुस्त बनाऔं ।