विराटनगरमा भारतबाट तरकारी आयात रोकियो

Newslaya Home

विराटनगरमा भारतबाट तरकारी आयात रोकियो

शनिबार १७, जेठ २०७७

विराटनगर । स्थानीय उत्पादनले नै बजार धानेपछि विराटनगर महानगरपालिकामा भारतबाट तरकारी आयात रोकिएको छ । लकडाउन र सीमा सिलपछि भारतबाट हरियो तरकारी आयात बन्द गरिएको हो ।

धेरै दिनसम्मको यात्रामा बाटामै तरकारी कुहिने, घट्दो माग र नेपाली उपभोक्ताले स्थानीय उत्पादन खोज्ने हुनाले भारतबाट हरियो तरकारी मगाउनै छाडेको व्यापारीहरु बताउँछन् ।

भारतबाट आयात नगर्दा पनि नेपाली बजारमा हरियो तरकारीको अभाव भएको छैन । लकडाउनका कारण प्रदेश १ का विभिन्न जिल्लाबाट बजारसम्म ल्याउन नपाएर आधा खेतबारीमा कुहिँदासमेत ७६।९९ वर्ग किमि क्षेत्रफल भएको महानगरका २ लाख ४६ हजार जनतालाई मजाले तरकारी खान पुगिरहेको छ ।

विराटनगरको जनपथटोलस्थित नयाँ गुद्री बजारका वरिष्ठ सल्लाहकार एवं थोक व्यवसायी पशुपति भगतले अहिले स्थानीय उपभोक्ताको मागलाई स्वदेशी तरकारीले धानिरहेको बताए । लकडाउनअघि भारतबाट दैनिक गोलभेडा, परबल र करेलालगायत ५० टन तरकारी आउने गरे पनि अहिले ल्याउनु नपरेको भगतले बताए ।

अहिले मोरङको कटहरी, धनपालथान, जहदा, ग्रामथान एवं सुनसरीको देवानगन्ज, हरिनगरा, इटहरी र सीमावर्ती झापाबाट आएको तरकारीले पुगिरहेको उनले बताए । पूर्वी पहाडी जिल्लाका उत्पादनहरुको निकै माग भए पनि उतै खपत भइरहेको छ ।

उनका अनुसार धेरै विषादी हाल्ने हुनाले भारतको तरकारी उपभोक्ताले उति मन पराउँदैनन् ।

तरकारीको सिजन सुरु हुँदा अलिक महँगिए पनि अहिले बजारमा गोलभेडा, काँक्रो र भिन्डी प्रतिकिलो १५ देखि ३० रुपैयाँ, परबल ५० रुपैयाँ, मुन्टा ५०, घिरौंला २०, भान्टा ५०, खुर्सानी ८०, बोडी २०र३० रुपैयाँ, लौका प्रतिगोटा २०र४० रुपैयाँ, रायो प्रति मुठ्ठा १० रुपैयाँ र धनियाँ ५ रुपैयाँ छ ।

आफ्नो उत्पादनको माग बढेपछि प्रदेश १ का व्यवसायी र कृषक उत्साहित छन् ।