जेठ २१ गतेदेखि निजी विद्यालयमा भर्ना सुरु

Newslaya Home

जेठ २१ गतेदेखि निजी विद्यालयमा भर्ना सुरु

शुक्रबार १६, जेठ २०७७

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दुरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने भएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले आज संयुक्त विज्ञप्ति निकाल्दै यो जानकारी दिएका हुन् ।

ती संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही जेठ १३ गतेको राष्ट्रका नाममा भएको सम्बोधनमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठनपाठन सञ्चालनको काम अगाडि बढाउने घोषणा गरेको हुनाले लकडाउनपछि परिवर्तित सन्दर्भमा सामाजिक दुरी कायम राखी विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न आफ्ना शिक्षक तथा कर्मचारीलाई उपस्थित गराउने भएको हो तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारे कुनै निर्णय गरेको छैन ।

मन्त्रालयको निर्णयपछि मात्रै सबै सामुदायिक विद्यालयमा समेत भर्ना खुल्नेछ । मन्त्रालयले गत वैशाख २२ गते विज्ञप्ति निकाली अर्को निर्णय नभएसम्म कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नलिन अपिल गरेको थियो । मन्त्रालयले भर्ना वा अनलाइन कक्षाका नाममा कुनै पनि शुल्क नलिन पनि आग्रह गरेको थियो ।